जानकारी साथै सूचना !

ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७७ जेठ २ गते नेपाली दूतावास ओमानले गठन गरेको “कोभिड-19 व्यवस्थापन स्वयंमसेवी समूह” का सदस्यहरूसँग अनलाइन भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण नेपाली समुदायमा परेको प्रभाव तथा त्यस सम्बन्धमा नेपाली दूतावासले गरेका प्रयासहरू र आगामी दिनमा यस समूहका सदस्यहरूले गर्नुपर्ने गतिविधिबारे छलफल गर्नुभयो।
छलफलका क्रममा यस समूहका सदस्यहरूले यस अवधिमा वहाँहरूले निभाउनु भएको भुमिका तथा आफ्नो क्षेत्रमा रहेका नेपालीहरूलाई परेको प्रभाव र पुर्याएको सहयोग बारे जानकारी गराउनु भएको थियो।
छलफलको क्रममा महामहिम राजदूतज्यूले अनलाइन भिडियो कन्फेरेन्सको माध्यमबाट जोडिनुभएका सम्पू्र्ण स्वयंसेवी सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै विपदको यो घडीमा नेपालीहरूको सहयोगका लागि वहाँहरूले पुर्याउनु भएको सहयोगका लागि दूतावास परिवारको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो। महामहिम ढकालज्यूले विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाली श्रमिकहरूलाई सुसूचित बनाइ समस्यामा परेका वा पर्न सक्ने नेपालीहरूसँग सम्पर्कमा रही आवश्यक सहयोग गर्न तथा प्राप्त सूचनाहरू दूतावासलाई उपलव्ध गराउन समेत अनुरोध गर्नुभयो।
बैशाख ३० गते मंगलबारका दिन माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीज्यूले ‌ओमान लगायत अन्य खाडी मुलुक र मध्यपूर्वस्थित नेपाली राजदूतहरूसँग यहाँ रहनुभएका नेपाली श्रमिकहरूको स्वास्थ्य, रोजगारी, सुरक्षा तथा सर्वोपरी हितका विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो। उक्त छलफलमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले ओमानमा रहुनभएका नेपालीहरूको स्वास्थ्य तथा सुरक्षा अवस्था तथा सो का लागि दूतावासले गरेका प्रयासहरूबारे जानकारी दिंदै अप्ठ्यारोमा परेका नेपालीहरूको सम्बन्धमा आवश्यक गृहकार्य गरी यथाशक्य चाँडो उद्दार गर्नु पर्ने धारणा राख्नु भएको थियो।
नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्था बारे जानकारी संकलन गर्ने उद्देश्यले शुरू गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय गर्दै गरेको जानकारी गराउँदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्नु हुन समेत अनुरोध गर्दछ।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
२०७७ जेठ ७ गते, बुधबार ।