Press release deepawali program 2075

प्रेस विज्ञप्ति

नेपालीहरुको महानपर्व शुभ-दिपावली तथा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ कार्तिक २१ गते साँझ राजदूत निवासमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।उक्त कार्यक्रमको शुरुवात महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात नेपाली राष्ट्रिय गान बजाइएको थियो।त्यसपछि महामहिमज्यूले महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा माल्यार्पण गर्नुभएको थियो।

कार्यक्रममा ओमानमा रही साहित्य सृजनामा लाग्नुभएका साहित्यकारहरुद्वारा कविता, गजल वाचन गर्नुका साथै कलाकारहरुद्वारा दिपावलीको अवसरमा सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए। त्यसैगरी नेपाली समुदायहरुले दिपावली गर्दै देउसी भैलो खेलेका थिए भने नेपालबाट आउनुभएका उपन्यासकार श्री नवराज पाण्डेले महाकवि लक्ष्मी प्रसाद देवकोटाप्रति श्रद्धा सुमन पोख्दै आफ्नो उपन्यास “पापी मास्टर” को बारेमा संक्षिप्त वर्णन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा महामहिम राजदूतज्यूले नेपालीहरुको महान पर्व तिहारको उपलक्ष्यमा ओमानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुहुँदै विदेशी भूमीमा रहेता पनि सवै नेपालीहरुले आफ्नो चाड, पर्व, धर्म, संस्कृतिको यसरी नै जगेर्ना गर्नु अति आवश्यक भएको बताउनु भयो साथै परदेशमा रही साहित्य सृजना गर्दै नेपाली साहित्यिक क्षेत्रलाई योगदान दिनुहुने नेपालीहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा यसैगरी  निरन्तरता दिन प्रेरित गर्नुभयो र नेपाली दूतावासले भविष्यमा ओमानमा नेपाली साहित्यलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वताउनु भयो। नेपाली साहित्यमा पु-याउनु भएको योगदानको कदर गर्दै नेपाली राजदूतावासका तर्फबाट महामहिमज्यूले उपन्यासकार श्री नवराज पाण्डेलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो।

उक्त कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, साहित्यकारहरु, पत्रकारहरु, ओमानमा कार्यरत नेपालीहरु तथा दूतावास परिवारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सेल-रोटी सहितको नेपाली खानाको व्यवस्था गरिएको थियो।

 

नेपाली राजदूतावास, मस्कट
कार्तिक २५, २०७५