मिति 2076 चैत्र १० गते परराष्ट्र मन्त्रालयको संयोजनमा माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीज्यू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री रामेश्वर राय यादवज्यू, श्रीमान परराष्ट्र सचिवज्यू

मिति 2076 चैत्र १० गते परराष्ट्र मन्त्रालयको संयोजनमा माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीज्यू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री रामेश्वर राय यादवज्यू, श्रीमान परराष्ट्र सचिवज्यू, श्रीमान श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिवज्यू लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा खाडी मुलक तथा आसपासका मुलुकका लागि नेपालका महामहिम राजदूतज्यूहरूसँग भिडियो कन्फरेन्स आयोजना भयो। उक्त कार्यक्रमको उद्देश्य पछिल्लो समय कोरोना भाइरस (COVID-19) को कारण उत्पन्न भएको विश्वव्यापी महामारीका कारण यस क्षेत्रमा परेको प्रभाव, यहाँस्थित नेपालीहरूको अवस्था, स्थानीय सरकारले उक्त रोगको रोकथाम, नियन्त्रणका लागि चालेका कदम र नेपाली नियोगहरूको गतिविधि सम्बन्धमा प्रत्यक्ष जानकारी लिनु रहेको थियो।उक्त भिडियो कन्फरेन्समा यस क्षेत्रका महामहिमज्यूहरूले आ-आफ्नो मुलुकमा रहेका नेपालीहरूको अवस्था र कोरोनाको प्रभाव लगायतका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो।
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले उक्त कन्फेरेन्समा यहाँको वस्तुस्थिति, ओमान सरकारले यस रोगको रोकथाम तथा नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समिति र यसले गरेका निर्णयहरू, नेपाली कामदारका विषयमा हालको अवस्था र भविष्यमा आइपर्न सक्ने समस्याका बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो।
सबै महामहिमज्यूहरूले आफ्नो भनाइ राखेपश्चात माननीय परराष्ट्र मन्त्रीज्यूले महामहिम राजदूतज्यूहरूलाई अध्यावधिक विवरणको लागि धन्यवाद दिंदै उहाँहरूले देखाउनुभएको तदारूकताको प्रशंसा गर्नुका साथै परिस्थितिको गम्भीर मुल्यांकन गर्न र स्थानीय सरकारहरूसँग सहकार्य जारी राखी नेपालीहरूको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनु भयो।माननीय मन्त्रीज्यूले अहिले सबैतिर अप्ठ्यारो स्थिति सिर्जना भएको बताउँदै विदेशमा रहेका नेपालीहरू नेपाल फिर्ता भई परिवारजनसँग बस्दा थप सुरक्षित भइन्छ कि भन्ने मनोविज्ञानबाट गुज्रिरहेको भएता पनि यस्तो घडीमा जो जुन स्थानमा छ त्यही स्थानमा बस्दा संक्रमणबाट सुरक्षित हुने परिस्थिति रहेको तर्फ इंगित गर्दै नेपालमा भएका परिवारजनसँग निरन्तर सम्पर्कमा रहन र मनोवैज्ञानिक त्रासबाट मुक्त रहन अनुरोध गरेको सन्देश यहाँ बस्ने नेपाली समक्ष पुर्याइदिन अनुरोध गर्नु भयो। त्यसैगरी माननीय मन्त्रीज्यूले यहाँ रहनुभएका नेपालीहरुलाई स्थानीय सरकारको निर्देशनहरुलाई पालना गर्न दूतावासहरुलाई अपिल गर्न निर्देशन दिनु भयो।अन्त्यमा माननीय मन्त्रीज्यूले सम्पूर्ण नेपाली दूतावासहरुलाई परिस्थितिको गम्भीर मूल्यांकन, विश्लेषण गर्दै भविष्यमा आइपर्न सक्ने अवस्थाको व्यवस्थापन गर्न पूर्व तयारी अवस्थामा रहन र सम्बन्धित मन्त्रालयहरुसँग निरन्तर सम्पर्कमा रहने लगायत अन्य विषयमा आवश्यक स्पष्ट निर्देशन दिनु भयो।
नेपाली राजदूतावास, मस्कट
2076 चैत्र ११, मंगलबार।