प्रेस-विज्ञप्ति


नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार ओमानमा रहनुभएका ८३० जना नेपालीहरुलाई नेपाल फिर्ता गराईसकिएको छ। आज ११ सेप्टेम्बर २०२० को पाँचौ उडान मार्फत नेपाल फर्कनुभएका १६५ जना (३९ महिला तथा १२६ पुरूष) नेपालीहरू तथा उक्त उडानका चालकदलका सदस्यहरू समेतको पि सि आर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको थियो।

आजकै उडानबाट नेपाल जाने मध्ये बाह्रदशी गा.पा.-6, झापाकी १ जना महिला श्री नेत्र कुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ।निज श्री राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आउनु भएको र बि.सं. २०७० साल देखी सम्पर्क विहिन रहनु भएको भनी निजका छोरा श्री नवराज राउतले आफ्नी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिनु भएअनुसार तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट निजलाई सम्पर्कमा ल्याईएको र निजको स्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा निजलाई घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको छ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीको लागि ओमानमा आई घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी श्री अरुणा मादेन र स्याङ्जाकी श्री गज कुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पुरा गरी आजकै उद्धार उडान मार्फत नेपाल फर्काईएको छ।

त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्न समेत दूतावास सफल भएको छ।

विमानस्थलमा नेपाली राजदूतावास मस्कटकी महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले सम्पूर्ण नेपालीहरुलाई स्वदेश फिर्तीको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो।यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा महामहिम राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो।

निजहरुको सफल घरफिर्ती एवं स्वास्थ्य लाभको कामना सहित पिडितहरूलाई सम्पर्कमा ल्याउन तथा उद्धार कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सहयोगी संघ संस्थाहरू एवम् व्यक्तिहरू लगायत समस्त नेपाली समूदाय प्रति यस दूतावास हार्दिक आभार व्यक्त गर्दछ।

श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
२०७७ भाद्र २६ गते, शुक्रबार।