नेपालको राष्ट्रिय दिवसको कार्यक्रम भव्यताका साथ सम्पन्न

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा मिति २०८० असोज २ गते तद्‌नुसार सन् २०२३ सेप्टेम्बर १९ मा नेपाली राजदूतावास, मस्कटद्वारा शेराटन ओमान होटलमा रात्री भोज सहित एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ओमान भिजन २०४० कार्यान्वयन इकाइका अध्यक्ष महामहिम डा. खामिस बिन सेफ बिन हामूद अल जाब्री (मन्त्री स्तर) प्रमुख अतिथि रहनु भएको थियो। यसका साथै स्टेट काउन्सिल (प्रतिनिधि सभा) र अलशुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई-दुई जना सदस्यहरू, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, शिष्टाचार महापाल, एशिया तथा प्रशान्त महाशाखा प्रमुख, कार्यवाहक नायब शिष्टाचार महापाल लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू/ ओमानस्थित विभिन्न सरकारी निकायका उच्च पदस्थ अधिकारीहरू, पत्रकारहरु, उद्योग व्यवसायीहरु, नेपाली समुदायका प्रतिनिधिहरू, राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २०० जनाको उपस्थिति रहेको थियो।
महामहिम राजदूत श्री डोरनाथ अर्यालद्वारा परम्परागत पानस दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरूवात गरिएको थियो। कार्यक्रमलाई सम्बोधन एवं स्वागत मन्तव्य दिने क्रममा राजदूत अर्यालले संविधानका विशेषताहरूमाथि प्रकाश पार्दै नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक र सामाजिक प्रगतिको मार्ग प्रशस्त गरेको बताउनुभयो। साथै नेपालको संविधानले समावेशी लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्दै संघीय र प्रदेशसभामा कूल ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत सिट महिलाको लागि सुनिश्चित गरेको जानकारी गराउनुभयो।
मन्तव्यको क्रममा महामहिम राजदूत अर्यालद्वारा नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी विश्वास र समझदारीमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको बताउँदै ओमानका सुल्तान हैथम बिन तारिकको सुस्वास्थ्य र सुखका साथै ओमानी जनताको निरन्तर प्रगति, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो।
महामहिम राजदूतले विश्व आर्थिक शक्तिराष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले व्यापार र लगानीका लागि थप अवसर सिर्जना भएको अभिव्यक्ति दिनुभयो। नेपालमा विश्वका चौध अग्ला चुचुरामध्ये आठ वटा हिमाल, वनस्पति र जीवजन्तु, सुन्दर नदी, ताल, विविध परिदृश्य, पर्वतारोहण, पदयात्रा, सांस्कृतिक सम्पदा लगायतका विविध प्राकृतिक र सांस्कृतिक आकर्षण रहेको बताउँदै नेपाल सबै उमेर समूहका लागि लोकप्रीय पर्यटकीय गन्तव्य रहेको विषयमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि डा. खामिस र राजदूत अर्यालले संयुक्तरूपमा उत्सवको केक काट्नु भएको थियो। राजदूतावासले अतिथिहरुलाई ‘नेपाली फूड कर्नर’ मा नेपालको लोकप्रीय परिकार मोःमो पस्केको थियो। उक्त कार्यक्रममा नेपाली मौलिक उत्पादन, हस्तकला र पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरू प्रदर्शनीमा राखिएको थिए। सम्मेलन हल भित्र र बाहिरका पाँचवटा ठूला मनिटरहरुमा पर्यटन प्रवर्द्धनात्मक श्रव्य दृष्य सामाग्रीहरु प्रदर्शन गरिएको थियो। अतिथिहरुको स्वागत तथा कार्यक्रममा नेपाली परम्परागत पञ्चे बाजा समेत बजाइएको थियो।
कार्यक्रमको संचालन उपनियोग प्रमुख (द्वितीय सचिव) श्री बिशेष कुमार साह र कार्यालय सचिव श्री आइटेकिन गोजाभेयाले गर्नु भएको थियो।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०८० असोज २