गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम
आज जेठ १५ गते साँझ गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास ओमानले राजदूत निवासमा एक कार्यक्रमको आयोजना गर्यो । दीप प्रज्वलन तथा नेपाल र ओमानको राष्ट्रिय गानबाट शुरुआत भएको सो कार्यक्रममा ओमानका राष्ट्रिय संग्रहालयका महासचिव, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, राजदूत तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, पत्रकारहरु, सगरमाथा आरोही, उद्योग व्यवसायीहरु, ट्राभल एजेन्सहरु, नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।
सो अवसरमा ओमानका पहिलो सगरमाथा आरोही महिला श्री नाजिरा अल हारथीले सगरमाथा आरोहण सम्बन्धी आफ्नो अनुभव र आकर्षक भिडियो र तस्विरहरु सहित प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा पर्यटन पदयात्री श्री फतिया अल जड्जालीले नेपाल भ्रमण, पत्रयात्रा, फाम ट्रिप आदिको अनुभवहरु सुनाउँदै नेपालको पर्यटन पवद्र्धनमा टेवा पुग्ने आकर्षक भिडियोहरु प्रस्तुत गर्नु भएको थियो । ओमान दैनिक अब्जरभरका पत्रकार श्री कबिर युसुफ, मस्कट दैनिकका पत्रकार श्री अनिरबन राय र सोसल मिडिया अभियन्ता श्री मुर्तदा अलावतीले आफ्नो अनुभवहरु सुनाउनुका साथै कबिर युसुफ र अनिरबन रायले नेपालमा फाम ट्रिपको अवसरमा बनाइएको नेपालको पर्यटन प्रवद्र्धन र वातावरण जोगाउन टेवा दिने सन्देश सहितको लघु बृत्तचित्र प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा महामहिम राजदूत श्री डोरनाथ अर्यालले पहिलो ओमानी महिला सगरमाथा आरोही श्री नाजिरा अल हार्थी, धेरै पटक नेपाल भ्रमण गर्नु भएको र नेपालको पाँचवटा हिमालको पदयात्रा समेत गर्नु भएको श्री फतिया अल जाड्जली, अरबिक, हिन्दी, मलायालम, अंग्रेजी, नेपाली समेत विभिन्न १५ भन्दा बढी भाषामा गीत गाउने प्रसिद्ध गायक श्री हाइथाम मोहमद रफी, पूर्व सद्भावना राजदूत तथा सामाजिक अभियन्ता डा. श्री चित्रा नारायणलाई धातुमा कुदेर नेपाली कलात्मक काठको आँखी झ्यालमा राखिएको प्रसंशापत्र प्रदान गर्नु भएको थियो । साथै ६ बर्ष ११ महिनाको उमेरमा सगरमाथा आधार शिविरमा पुग्नु भएका अल ग्रोब्रा, भारतीय स्कूलमा अध्यनरत विद्यार्थी श्री अक्षज उडिवाललाई प्रसंशापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै राजदूत अर्यालले नेपालको आकर्षक पर्यटन गन्तब्यहरु तथा व्यापार र लगानीका अवसरहरु बारेमा प्रकाश पार्नु भएको थियो । श्री अर्यालले विश्वव्यापी तापक्रम वृद्धिले हिमालहरुलाई पारेको असर बारेमा बताउँदै हिमालहरु आँखाको लागि मनमोहक दृष्य र स्वच्छ खानेपानीको श्रोत मात्र नभएर समुद्रदेखि हिमालसम्मको वातावरणीय सन्तुलन कायम गर्न उल्लेख्य योगदान रहेको विषयमा धारणा राख्दै हिमालहरु संसारको ताज र सबै मानवजातिको सम्पत्ति भएको कुरा समेत बताउनु भयो ।
नेपाली राजदूतावासको तर्फबाट कार्यक्रममा पर्यटन प्रवद्र्धनात्मक बृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै उपस्थित पाहुनाहरुलाई रात्रीभोजको आयोजना गरिएको थियो । कार्यक्रममा सगरमाथा समूह ओमानको सहयोगमा उपस्थित सबै विदेशी पाहुनाहरुलाई फ्रेममा राखिएको सगरमाथाको सुन्दर तस्विर उपहारस्वरुप प्रदान गरिएको थियो । उक्त कार्यक्रम नेपाली राजदूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र ओमानस्थित नेपाली सोसल क्लब, सगरमाथा समूह लगायत सबै नेपाली संघ संस्थाहरुको सहयोगमा गरिएको थियो । कार्यक्रमको संचालन राजदूतावासका श्रम सहचारी श्री गोबिन्दप्रसाद आचार्य र तृतीय सचिव श्री कविता खनालले गर्नु भएको थियो ।
आजै विहान गणतन्त्र दिवसको अवसरमा राजदूत निवासमा एक कार्यक्रमको आयोजना गरिएको थियो । राजदूत अर्यालबाट झण्डोत्तलन गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । सो अवसरमा राजदूत अर्याल र श्रम सहचारी श्री गोविन्दप्रसाद आचार्यले गणतन्त्र दिवसको महत्व र ऐतिहासिक पृष्ठभूमि सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
नेपाली राजदूतावास
ओमान ।
२०८० जेठ १५