नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ जेठ १७ गते राजदूत निवासमा एघारौं गणतन्त्र दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।

नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ जेठ १७ गते राजदूत निवासमा एघारौं गणतन्त्र दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमको शुरुवात महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल तथा गैर आवासीय नेपाली संघका सचिव श्री डि.बी. क्षेत्रीद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात नेपाली राष्ट्रिय गान बजाइएको थियो भने गणतन्त्र प्राप्तिका लागि बलिदान दिनुहुने ज्ञात-अज्ञात शहिदहरुको सम्मानमा १ मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रममा महामहिम राजदूतज्यूले नेपाली जनताहरुको लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र दिवसको अवसरमा ओमानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्रको स्थापना पश्चात नेपाल सरकारले “समृद्ध नेपाल सुखी नेपाली”को मूलमर्मलाई आत्मसाथ गर्दै अघि बढेको र गणतन्त्रलाई थप संस्थागत तथा सुदृढ गर्ने विविध प्रयासहरु नेपाल सरकारबाट हुँदै आएको तथा नेपालको सर्वाङ्गीण विकासको लागि गणतन्त्र केवल राजनीतिक विषय मात्र नभई समग्र सामाजिक रुपान्तरणको माध्यम बन्नु पर्दछ भन्ने विचार व्यक्त गर्नु भएको थियो।यसैक्रममा महामहिम राजदूतज्यूले दूतावासले नेपाल-ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन एवं ओमानमा रहेका नेपालीहरुको हक-अधिकारको रक्षाका लागि दूतावासले गरेका विविध कार्यक्रमहरु तथा आगामी योजनाहरुबारे पनि प्रकाश पार्नु भयो।
त्यसैगरी उक्त कार्यक्रममा ओमानमा क्रियाशिल विभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुले गणतन्त्रको अवसरमा शुभकामना मन्तव्यहरु प्रकट गर्नु भएका थिए भने केहीले राष्ट्र प्रेमसम्बन्धी गजल वाचन गर्नु भएको थियो।दूतावासले जेठ१४, १५, १६ गते साँझ दूतावास प्राङ्गणमा दिपावली गरेको थियो भने जेठ १७ गतेको कार्यक्रममा राजदूत निवासमा दिपावली गरिएको थियो।
गणतन्त्र दिवस जेठ १५ गते भएतापनि दूतावासले ओमानमा कार्यरत नेपालीहरुको विदाको समयलाई ध्यानमा राख्दै कार्यक्रम जेठ १७ गते गरेको थियो। उक्त कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, पत्रकारहरु तथा ओमानमा कार्यरत नेपालीहरु तथा दूतावास परिवार गरी करिव १०० जना नेपालीहरुको सहभागिता थियो। कार्यक्रमको अन्त्यमा नेपाली खानाको व्यवस्था गरिएको थियो।
नेपाली राजदूतावास, मस्कट
जेठ १७, २०७५