आज मिति २०७४ मंसिर १५ गते नेपाली राजदूतावास, मस्कटले ओमानमा रहेका नेपाली संघ-संस्थाहरुका प्रतिनिधिहरुसंग एक छलफल कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा ओमानका लागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले नेपाली दूतावासले आगामी दिनहरुमा गर्न लागेका विविध कार्यक्रमहरु जस्तै "मस्कट फेस्टिवल" मा नेपाली राजदूतावासको सहभागिता, नेपाल-ओमान कूटनीतिक सम्बन्ध स्थापनाको ४१औं वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रम, महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरु आदिकाबारेमा प्रकाश पार्नु भयो। वहाँले दूतावासले आयोजना गर्न लागेका यस्ता विविध कार्यक्रमहरुले नेपाल-ओमानको द्विपक्षीय सम्बन्धको सुदृधिकरण, नेपालको संस्कृति-पर्यटनको प्रवर्धन तथा सम्पूर्ण नेपाल र नेपालीहरुको छविलाई उच्च पार्ने भएकोले यस्ता कार्यक्रमहरुमा सवै संघ-संस्थाहरुलाई सहयोग र समन्वय गर्न पनि अनुरोध गर्नु भयो। कार्यक्रममा सहभागी हुनुभएका संघ-संस्थाहरुले दूतावासको भावी योजनाहरुको प्रशंसा गर्दै पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।