ओमानको श्रम कानूनको मूलभूत पक्षहरु

ओमानको श्रम कानुन

ओमानको श्रम कानुनका मूलभूत पक्षहरु

ओमानको श्रम कानुन The Labour Law २६ अप्रिल २००३ मा जारी भएको हो।उक्त श्रम कानून कार्यन्वयनसँग सम्बन्धित मन्त्रालय The Ministry of Manpower हो।साथै श्रम मन्त्रालय तथा यस मन्त्रालयसँग सम्बन्धित विभागहरुमार्फत समय समयमा जारी हुने आदेशहरु पनि कानुनसरह लागु हुन्छ।रोजगारदाताले मन्त्रालयबाट अनुमति नपाएसम्म गैर-ओमानी कामदारहरूलाई ओमान ल्याउन निषेध गरिएको तथा एक गैर-ओमानीलाई लेबर कार्ड बिना ओमानमा कुनै पनि काममा सामेल गराउन नपाउने भनि स्पष्टरुपमा श्रम कानुनको धारा १८ मा व्यवस्था गरिएको छ।ओमानको श्रम कानुनले आप्रवासीको रोजगारीको अधिकार सुनिश्चित गर्न रोजगारदाताले कामदार ल्याई रोजगारविहिन बनाउन नहुने तथा यदि सो अवस्था सिर्जना गरेमा स्वदेश फिर्ता गराउनु पर्ने व्यवस्था गरिएको छ।

कार्य सम्झौता (धारा २१-२४)

  • कामको सम्झौता अरबीमा दुई प्रति, एक लिखित र जारी गरी पुष्टि गरिएको हुनुपर्ने तथा यदि सम्झौता अन्य भाषामा भएमा कम्तिमा एक प्रति अरबी भाषामा हुनुपर्ने;
    कामको लिखित सम्झौता नभएपनि कामदारले अन्य कुनै प्रमाणको माध्यमबाट आफ्नो अधिकार स्थापित गर्न सक्ने;
  • सम्झौता दुई पक्षहरूद्वारा स्वतन्त्ररुपमा स्वीकार गरिएको हुनुपर्ने र एकप्रति कामदार आफैंले राख्नुपर्ने;
  • यदि सम्झौताका पक्षहरू मध्ये कुनै एकले पढ्न वा लेख्न नसक्ने वा बुझ्दैन भने कानुन अनुसार सम्झौताको भाषा सम्बन्धित अधिकारी द्वारा प्रमाणित गरि दुबै पक्षले बुझ्नुपर्ने;
  • कामदार र रोजगारदाता दुबैको मञ्जुरी भएमा करार संझौता नवीकरण गर्न सकिने;
  • ओमानमा करार सम्झौता २ वर्षको भन्दा कम समयको भएपनि नेपालबाट श्रम स्वीकृतीको लागि २ वर्षको अनिवार्य करार सम्झौता हुनुपर्ने;
  • करार सम्झौतामा विशेष गरी निम्न जानकारी समावेश हुनुपर्छ:·
    रोजगारदाताको नाम र कार्यस्थलको स्थापना र ठेगाना;·
    कामदारको नाम, जन्म मिति, योग्यता, जागिर वा पेशा, स्थान निवास र राष्ट्रियता;·
    सम्झौताको प्रकृति र कामको प्रकार/अवधि;·
    आधारभूत तलब र कुनै पनि भत्ता, सुविधा वा पारिश्रमिक;·
    कानून द्वारा निर्दिष्ट गरिने कुनै पनि अन्य विवरणहरू।
  • उसले सम्झौतामा उल्लेखित कामका शर्तहरू पालना गर्नुपर्ने;
  • इस्लाम धर्म, देशको कानुन, प्रथा र सामाजिक परम्पराको सम्मान गर्ने;
  • देशको सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुने ।

    परीक्षण अवधि (धारा- २४)

    • कुनै कामदारले मासिक रूपमा ज्याला पाएमा तीन महिनाभन्दा बढी अवधिको लागि परीक्षण कालमा राख्न नपाइने र अन्यथा तलब पाएमा एक महिनाभन्दा बढी अवधिको लागि परीक्षणमा राख्न नपाउने;
    • यसैगरी एक कामदारलाई एउटै रोजगारदातासँग एक पटक भन्दा बढी परिक्षण कालमा राख्न नपाइने र कामदारले सफलतापूर्वक पूर्ण रूपमा परीक्षणकाल पूरा गरेको खण्डमा कुनै पनि परीक्षण अवधि सेवा अवधिमा समावेश गरिने।

    कामदारको कर्तव्य (धारा २७)

    • रोजगारदाताको निर्देशन र सुपरिवेक्षण अनुसार करारमा तोकिएको हदसम्म कानून तथा कार्य नियमहरू बमोजिम कामदारले आफ्नो कार्य सम्पादन गर्ने;
    • यदि त्यस्तो निर्देशन सम्झौता, कानून वा नैतिकता नभएको भएमा कामको कार्यान्वयन सम्बन्धी रोजगारदाताको निर्देशनको पालना गर्ने;
    • आफ्नो जिम्मामा आएका उत्पादन/कामका साधनहरूको ख्याल राखी उचित हेरचाह र लगनशीलताका साथ तिनीहरूको मर्मत सम्भार र सुरक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने;
    • काममा गोप्यता कायम राख्ने;
    • रोजगारदाताद्वारा तोकिएका नियम/प्रक्रियाहरू अनुसार आफ्नो सीप र अनुभवलाई व्यावसायिक र सांस्कृतिक रूपमा विकास गर्न निरन्तर प्रयास गर्ने;
    • रोजगारदाताको पूर्व स्वीकृति लिएर मात्र काम गर्ने ठाउँभन्दा बाहिर उपकरणहरू प्रयोग गर्ने र त्यस्ता उपकरणहरूलाई उचित स्थानमा राख्ने;
    • कम्पनी तथा कार्यस्थलमा सुरक्षा र व्यावसायिक स्वास्थ्यको निर्देशनको पालना गर्ने।

     

    स्वास्थ्य सुविधा (धारा ३३-३८)

    • रोजगारदाताले आफ्ना कामदारहरुको जीवन बिमा र स्वास्थ्य बिमा गर्नु पर्ने
    • रोजगारदाताले कम्पनीमा रहेका आफ्ना कामदारहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने;एकै ठाउँ वा एक सहरमा आफ्नो कामदारको संख्या एक सयभन्दा बढी भएमा रोजगारदाताले प्राथमिक उपचार गर्न योग्य नर्स नियुक्त गर्नुपर्ने;
    • यदि कामदारको संख्या पाँच सय नाघेको खण्डमा रोजगारदाताले आफ्ना श्रमिकहरूको उपचार एवं सर्जरी समेतको लागि विशिष्ट डाक्टरसहितको टोली थप गर्नुपर्नेछ।तथा श्रमिकहरूलाई उनीहरूको उपचारको लागि दाँत, आँखा र मातृत्व उपचार बाहेकको आवश्यक औषधिहरू  नि:शुल्क हुनु पर्नेछ;
    • सरकारी वा निजी अस्पतालमा कामदारको उपचार भएमा त्यसको खर्च रोजगारदाताले व्यहोर्नुपर्नेछ।

      कामदार उपदानको हकदार हुने (धारा-३९)

    • रोजगारदाताबाट कामदारले पोस्ट सर्भिस ग्रेच्युटीको रकम पाउनेछ;
    • पहिलो तीन वर्षको सेवाको प्रत्येक वर्षको लागि पन्ध्र दिनको ज्याला  र त्यसपछिका वर्षहरुमा प्रत्येक वर्षको लागि एक महिनाको तलब बराबर उपदानको हकदार हुनेछ;
    • आफ्नो सेवा अवधि र अन्तिम आधारभूत ज्याला(Basic salary)को अनुपातमा वर्षको अंश उपदानको गणनाको लागि आधार मानिने;
    • सेवाको अवधि एक वर्षभन्दा कम भएमा उक्त उपदान दिइने छैन।

      बिना सूचना क्षतिपूर्ती र सेवा सुविधा नदिई रोजगारदाताले श्रमिकको करार सम्झौता अन्त्य गर्न सक्ने अवस्थाहरु (धारा-४०)

    • यदि कामदारले गलत पहिचान धारण गरेको छ वा उसले जागिर प्राप्त गर्न गैरकानुनी
    • बाटोको सहारा लिएको छ भने;
    • यदि उसको कुनै गल्तीको कारण रोजगारदातालाई ठूलो आर्थिक नोक्सान हुन्छ भने;
    • कुनै कारणबिना एक वर्षको अवधिमा दश दिनभन्दा बढी कामबाट अनुपस्थित भएमा;
    • यदि उसले काम गरेको कम्पनीको कुनै गोप्य कुरा खुलासा गर्छ भने;
    • यदि उसको विरुद्ध कुनै अपराध वा अपराधको उल्लङ्घनको लागि अन्तिम फैसला भयो भने;
    • कामको समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परे वा लागु पदार्थ सेवन गरेको अवस्थामा;
    • यदि उसले रोजगारदाता वा जिम्मेवार प्रबन्धकलाई आक्रमण गर्छ वा यदि उसले कामको क्रममा आफ्नो कुनै पनि वरिष्ठ अधिकारीमाथि गम्भीर आक्रमण, वा यसको कारणले गर्दा कम्पनीमा सहकर्मीलाई कुटपिट गर्छ र परिणाम स्वरूप त्यसको बिमारी वा दस दिन भन्दा बढी अवधिको लागि कामबाट ढिलाइ हुन्छ भने।

      पूर्व सूचना दिएर करार सम्झौता समाप्ती अघि भंग गरेमा श्रमिकले सेवा सुविधा पाउने अवस्थाहरु (धारा-४१)

    • रोजगारदाता वा निजको प्रतिनिधिले करार सर्तहरूको सम्बन्धमा रोजगारी प्रवेश गर्दा ठगी गरेको भए;
    • यदि रोजगारदाताले कामदार प्रति कानूनको प्रावधान वा कामको सम्झौताका सर्तहरू अनुसार आफ्नो दायित्व पूरा नगरेमा;
    • रोजगारदाता वा निजको प्रतिनिधिले श्रमिक वा उसको परिवार को कुनै सदस्यविरुद्ध अनैतिक कार्य गरेमा;
    • यदि उसलाई रोजगारदाता वा उसको प्रतिनिधिले आक्रमण गरेको छ भने;
    • कामदारको सुरक्षा वा स्वास्थ्यलाई असर पार्ने गम्भीर खतराको बारेमा रोजगारदातालाई थाहा भईकन पनि रोकथामका उपायहरु अवलम्बन नगरेमा।
      करार सम्झौता अन्त्य भएको मानिने अवस्थाहरु (धारा-४३)
    • करार सम्झौताको समाप्ति वा सहमति भएको कामको समाप्तिपछि;
    • कामदारको मृत्यु भएमा;
    • कामदार आफ्नो काम गर्न असमर्थ भएमा;
    • कामदारको राजिनामा वा बर्खास्त वा कानूनी प्रावधान अनुरुप काम छोडेमा;
    • कामदार लामो समयसम्म बिमारी भई काम गर्न अशक्त भएमा।

      बिदा (धारा-६१-६७)

    • एक कामदारलाई पूर्ण तलब सहितको वार्षिक तीस दिन बिदाको हक हुनेछ।काममा सामेल भएको कम्तिमा छ महिना बित्नु अघि यो वार्षिक बिदाको सुविधा लिनु हुँदैन;
    • कामदारलाई पूरै तलब सहित वार्षिक छ दिनको आकस्मिक बिदा पाउने अधिकार हुनेछ;
    • कामदारले यस बिदालाई सुविधाको रुपमा लिनु पर्नेछ अधिकारको रुपमा पाईने छैन;
    • कामदारलाई दुई वर्षमा एक पटक कम्तिमा दुई हप्ताको बिदा  प्राप्त हुनेछ;
    • रोजगारदाताले कामदारलाई वार्षिक बिदाको दिनको आधारभूत पारिश्रमिक तिर्नु पर्नेछ;
    • बिदा अवधिमा अर्को रोजगारदाताकोमा काम गरेमा पहिलो रोजगारदाताले बिदाको तलब असुल गर्न सक्नेछ;
    • कामदार आफ्नो संचित वार्षिक बिदाको सुविधा आधारभूत पारिश्रमिकको आधारमा प्राप्त गर्ने हकदार हुनेछ;
    • चाडपर्व र अधिकारीक बिदामा कामदार आफ्नो कूल पारिश्रमिकको हकदार हुनेछ।र यस्तो आधिकारिक बिदा साप्ताहिक बिदाको दिनमा पर्न आएमा कामदारले अर्को दिनमा क्षतिपूर्ति बिदा पाउने छ;
    • कामको परिस्थिति अनुसार कामदारलाई आधिकारिक बिदामा काम गर्न सोध्न सकिन्छ र यस्तो अवस्थामा कामदारले त्यस्तो दिनको लागि आफ्नो कुल ज्यालाको अतिरिक्त थप 25% भन्दा कम नहुने गरि प्राप्त गर्ने हकदार हुनेछ वा त्यसको विकल्पको रूपमा अन्य दिन विश्राम लिन पाउने छ;
    • बिरामी प्रमाणित भएको कामदार बिरामी बिदाको हकदार हुनेछ जसको कुल एक वर्षको अवधिमा दस हप्ता भन्दा बढी हुने छैन।जो निम्नानुसार हनेछ:
    • १००% तलबको साथ पहिलो र दोस्रो हप्ता;
    • ७५% तलबको साथ तेस्रो र चौथो हप्ता;
    • ५0% तलबको साथ पाँचौं र छैठौं हप्ता;
    • २५% तलबको साथ सातौं हप्तादेखी दशौं हप्तासम्म।
    • कामदार कूल पारिश्रमिक सहित  निम्नानुसार विशेष बिदाको हकदार छ:
    • निजको विवाह भएको खण्डमा तीन दिन।तर यो बिदा सेवा अवधिभर एक पटक भन्दा बढी पाइने छैन;
    • छोरा, छोरी, आमा, बाबु, श्रीमती, हजुरबुवा,  हजुरआमा वा दिदीबहिनीको मृत्यु भएमा तीन दिन;
    • काका वा काकीको मृत्यु भएमा दुई दिन;
    • रोजगारदाताको सेवामा एक वर्ष पूरा गरेको अवस्थामा कामदारले एक पटक अल-हज [तीर्थयात्रा] प्रदर्शन को लागी पन्ध्र दिन;
    • ओमानीको हकमा स्कूल, प्रतिष्ठान, कलेज वा विश्वविद्यालयहरू मध्ये एकको विद्यार्थी हो भने परीक्षाको लागि वर्षको पन्ध्र दिन;
    • पतिको मृत्यु भएको अवस्थामा काम गर्ने मुस्लिम पत्नीको लागि एक सय तीस दिन।

      तलब सम्बन्धी व्यवस्था (धारा-४९-६०)

    • कामदारले पाउने ज्याला र अन्य रकम कानुनी रूपमा निजको बैंक खातामा भुक्तानी गरिनेछ;
    • कामको दिन र कार्यस्थलमा निम्न प्रावधानहरूको अधीनमा तलब भुक्तानी गरिनेछ:
    • मासिक ज्यालामा नियुक्त भएका कामदारहरूलाई हरेक महिना  एक  पटक तलब दिइनेछ भने अन्य कामदारलाई कामको प्रकृती अनुसार दुई हप्ताभित्र (दैनिक ज्यालारी) एक पटक तलब दिईने;
    • तलब वा ज्याला दिंदा दिनुपर्ने निर्धारित मितिभन्दा ७ दिन भन्दा ढिलाई गर्न नपाइने;
    • राष्ट्रिय र आधिकारिक अवसरहरूमा मन्त्रीको प्रस्तावले कानूनी प्रावधान अन्तर्गतका प्रतिष्ठानहरूले आफ्नो निर्धारित मितिभन्दा अघि कर्मचारीको तलब भुक्तानीको समय निर्धारण गर्न सक्नेछ;
    • कामदारले आफ्नो इच्छा अनुसार काम त्यागेकोमा बाहेक करार सम्झौता समाप्त भएको छ भने कामदारलाई काम छोडेको ७ दिनभित्र ज्याला र पाउनुपर्ने बाँकी सबै सेवा सुविधा रकम भुक्तानी गर्नुपर्ने;
    • रोजगारदाताले कर्मचारीको तलब कर्मचारीको खाता रहेको स्थानीय रूपमा स्वीकृत बैंकहरू मध्ये एकमा  जम्मा नगरेसम्म तलब भुक्तानीबाट मुक्त हुने छैन;
    • शरिया अदालतहरूले निर्णय गरेको भत्ताको रकम बाहेक यस कानूनको प्रावधान अनुसार रोजगारदाताले तिर्ने सबै ऋणभन्दा श्रमिक वा तिनका लाभार्थीहरुले पाउनेपर्ने सबै ज्याला, अधिकार, अन्य सुविधा र सबै भुक्तानीहरू प्राथमिकतामा पर्नेछ;
    • रोजगारदाताले गैर-ओमानी कामदारलाई करार सम्झौताको अन्त्यपछि यदि अर्को रोजगारदातालाई हस्तान्तरण नभएको खण्डमा आफ्नो देशमा फिर्ता पठाउनु पर्नेछ।रोजगारदाताले त्यसो गर्न अस्वीकार गरेमा ओमानी सरकारी खर्चमा कामदारलाई फिर्ता पठाईनेछ र सरकारले सो वापतको रकम रोजगारदाताबाट रिकभर गर्नेछ;
    • रोजगारदाताले मासिक ज्याला कमाउने कामदारलाई उसको लिखित सहमतिबाहेक दैनिकको वर्गमा वा साप्ताहिक पारिश्रमिक कमाउने वर्गमा वा प्रति संख्या वा प्रति घण्टाको आधारमा कमाउने वर्गमा स्थानान्तरण गर्नु हुँदैन;
    • रोजगारदाताले कुनै पनि कामदारले लिएको ऋण भुक्तानीमा पारिश्रमिकको १५% भन्दा बढी कटौती गर्नु हुँदैन।साथै विशेष अवस्था बाहेक ऋणमा ब्याज लिन नपाइने एवं अग्रिम सापट लिएको तलबमा पनि सोही नियम लागू हुनेछ;
    • शिफ्ट कामदार वा कामदार जसको तलब एक घण्टा, दैनिक, साप्ताहिक, आधामा निर्धारण गरिएको छ भने उसले वास्तवमा काम गरेको घण्टा बाहेक पारिश्रमिकको हकदार हुने छैन।

      काम गर्ने घण्टा
      (धारा-६८-७४)
    • रोजगारदाताले कामदारलाई साधारणतया दिनको ८ घण्टा र हप्ताको ४८ घण्टा तथा रमादानको समयमा दिनको ६ घण्टा र हप्ताको ३६ घण्टाभन्दा बढी काममा लगाउन नपाईने;
    • निरन्तर ६ घण्टाभन्दा बढी काम नढ्नेगरि कामदारलाई खाना र आराम लिनको लागि एक वा बढी अन्तरालहरूसमेत कम्तिमा आधा घण्टा समय उपलब्ध गराउनु पर्ने;
    • यदि रोजगारदाताले कामदारलाई सहमतीमा अतिरिक्त समय काममा लगाउन चाहेमा बढीमा दैनिक १२ घण्टाभन्दा लगाउन पाईने छैन।र अतिरिक्त काम गरेको समयको आधारभूत तलबको कम्तिमा थप 25% दिनको कामको लागि उपलब्ध गराउनु पर्ने;
    • कामदारलाई प्रति हप्ता कम्तिमा एक दिन तलबी विदा दिनु पर्ने।

      महिलाको रोजगारी (धारा ८०-८६)

    • बिना पूर्वाग्रह विना भेदभाव समान कामको पुरुष र महिलालाई समान तलब प्रदान गर्नुपर्ने;
    • महिलाले राति ९ बजेपछि र बिहान ६ बजेअघि काम गर्न नपर्ने;
    • महिलालाई स्वास्थ्यका लागि हानिकारक वा कडा परिश्रम गर्ने काम वा मन्त्रीको निर्णयबाट तोकिएको अन्य कामहरू गर्न नलगाइने;
    • महिला कर्मचारीलाई सुत्केरी अघि र पछिको अवधि गरि आफ्नो कामको अवधिमा बढीमा बढीमा तीन पटक प्रत्येक पटक पूर्ण तलब सहित पचास दिनको प्रसूति बिदाको अधिकार हुने;
    • चिकित्सकबाट पुष्टि भएको गर्भावस्था वा सुत्केरी को कारण बिरामी  महिला कामदारलाई निजको काममा अनुपस्थिति भएमा रोजगारदाताले बर्खास्त गर्न पाउने छैन।यस्तो अनुपस्थितिको कुल अवधि छ महिना भन्दा बढी हुने छैन;
    • एक वा एकभन्दा बढी महिला कामदार भएमा रोजगारदाताले कार्यस्थलमा महिला रोजगारी को नियमहरुको प्रतिलिपि राख्नुपर्छ।

      सुरक्षा र पेशागत स्वास्थ्य सम्बन्धी (धारा ८७-९०)

    • रोजगारदाताले कामदारसँग सम्बन्धित रोजगार अनुमति, करार सम्झौता, कामदारको आई.डी. कपी, बिदाको अभिलेख, कार्यस्थलमा लागेको चोटपटक, पेशागत रोग, पेनाल्टी लगायत कामदारसँग सम्बन्धित सबै कागजात निश्चित फाइलमा अभिलेख राख्नुपर्दछ;
    • कामदार, मेसिन र अन्य सामग्रीको सुरक्षाको लागि उपयुक्त सुरक्षा व्यवस्था गर्नुपर्ने;
    • रोजगारदाताले कार्यस्थलमा हुनसक्ने सम्भाव्य खतरा र सोबाट बच्ने उपायबारे जानकारी र सुरक्षाका सरसामान उपलब्ध गराउनुपर्ने;
    • कामदारको स्वास्थ्य र पेशागत रोगबाट बचाउन पूर्व सावधानीका उपाय अवलम्बन गर्नुपर्ने;
    • कामदारले काम गर्दा सावधानी अपनाउने र सुरक्षाका औजारहरु प्रयोग गर्ने;
    • कामदारको बिमा हुनुपर्ने र काम गर्दा चोटपटक, पेशागत रोगको लागि बिमा कम्पनीबाट रोजगारदाताले बिमा रकम दिलाउनुपर्ने।

      श्रम विवाद (धारा १०४-१०७)
    • पचास वा सोभन्दा बढी कामदारलाई रोजगारी दिने प्रत्येक रोजगारदाताले कामदारहरुको गुनासो सुन्ने कार्यविधिको व्यवस्था गर्नुपर्ने।उक्त कार्यविधिले कामदारलाई आफ्नो गुनासो रोजगारदाता वा निजको प्रतिनिधिसमक्ष पेश गर्ने अधिकार हुने;
    • कामदारले आफ्नो गुनासो सर्वप्रथम रोजगारदाताबाट नै समाधानको प्रयत्न गर्नु पर्दछ।यदि रोजगारदाताबाट समाधान ननिक्लिएमा पन्ध्र दिन भित्र आफ्नो गुनासो सम्बन्धित निकाय अथवा श्रम अदालतमा दर्ता गरि रोजगारदाता र आफुबिच भएको विवाद समाधान गर्ने सक्दछ;
    • कुनै कामदारले आफ्नो गुनासो राख्दा कम्तिमा आफ्नो कारणले काममा अनुपस्थित भई गुनासो गर्न हुँदैन।ओमानमा कार्यस्थलमा हड्ताल गर्न पाईंदैन।

      दण्ड र सजाय सम्बन्धी व्यवस्था (धारा-१११-१२५)

    • कुनै पनि रोजगारदाताले गलत तथ्याङ्क पेश गर्ने, आफ्ना कामदारलाई कबुल गरिएको सेवा सुविधा नदिने तथा कामदारको इच्छा विपरित जबरजस्ती काममा लगाएमा बढीमा १ महिना जेल सजाय वा बढीमा ५०० ओमानी रियाल जरिवाना वा दुबै सजाय हुन सक्छ;
    • यदि कुनै विदेशी कामदारलाई रोजगारदाताले ओमानीलाई मात्र लगाउनुपर्ने काममा लगाएमा वा कामदार गैरकानुनिरुपमा अन्य रोजगारदाताको काम गरेमा पहिलो रोजगारदातालाई बढीमा १ महिनाको जेल सजाय वा १००० देखी २००० ओमानी रियाल जरिवाना वा दुवै सजाय हुने।साथै कामदारलाई रोजगारदाताको खर्चमा ओमानमा प्रवेश निषेध हुने गरि उसको मुलुक फर्काउनु पर्ने;
    • गैरकानुनी रुपमा ओमानमा काम गर्ने विदेशी कामदारहरुलाई कम्तीमा १ महिनाको जेल सजाय वा ४०० देखी ८०० ओमानी रियालसम्मको जरिवाना वा दुवै सजाय हुने। साथै कामदारलाई रोजगारदाताको खर्चमा ओमानमा प्रवेश निषेध हुने गरि उसको मुलुक फर्काउनु पर्ने;
    • कुनै पनि विदेशी कामदारले ओमानको कानुनी अनुमतिबिना ओमानमा कुनै गतिविधिहरु सञ्चालन गर्छ भने उसलाई न्युनतम १ महिनाको जेल सजाय वा ५०० देखी १००० ओमानी रियालसम्मको जरिवाना वा दुवै सजाय हुने;  यदि कुनै पनि विदेशी नागरिक ओमानमा पर्यटक भिसामा आई भिसा समाप्तपश्चात पनि ओमानमै Overstay भइरहन्छ भने निजले Overstay अवधिको दैनिक १० ओमानी रियालको दरले जरिवाना तिर्नुपर्ने हुन्छ।
      • ओमानमा अदालतको संरचना: कानुनी उपचारको प्रक्रिया

      श्रम अदालत (Labour Court)

      • ओमानको ११ वटै governorate हरुमा श्रम अदालत रहेको;
      • ओमानको Ministry of Manpower को मातहतमा रहेको;
      • आफ्नो श्रमसँग सम्बन्धित सम्पूर्ण समस्याहरु,जुन सम्बन्धित कम्पनीबाट समाधान भएका हुँदैनन्, श्रम अदालतमार्फत समाधानको लागि पहल गर्न सकिने;
      • श्रम अदालतमा अनलाईनमार्फत वा भौतिकरुपमा आफ्नो समस्याबारे निवेदन दर्ता गर्न सकिने;
      • दर्तापश्चात आफ्नो Case no वा दर्ता नम्बर लिने;
      • उपस्थित हुने वा अदालतले बोलाएको मितिमा उपस्थित हुने;
      • आफ्नो मुद्दा हेर्ने वा अदालतले सिफारिस गरेको सम्बन्धित अधिकारीबारे जानकारी राख्ने र निजको निर्देशनबमोजिमको कार्यहरु गर्ने;
      • आवश्यक परेमा कानुन व्यवसायीको सहयोग लिने;
      • समस्या परेमा नजिक रहेका साथिभाईको सहयोग लिने तथा राजदूतावासमा सम्पर्क गरेर पनि राय सल्लाह लिन सकिने;
      • ओमानमा श्रम अदालतबाट समाधान नभएका समस्याहरु Court मा सिफारिस गरिन्छ।

       प्राथमिक अदालत (Courts of First Instance वा Primary Court)

      • सबैभन्दा तल्लो अदालत
      • श्रम अदालतमा समाधान नभएको श्रम सम्बन्धी समस्या हेर्ने क्षेत्राधिकार रहेको।

      पुनरावेदन अदालत (Appeal Court)

      • दोश्रो तहको अदालत
      • Primary Court वा Court of First Instance को निश्चित निर्णयहरुउपर पुनरावेदन सुन्ने

      सर्वोच्च अदालत (Supreme Court)

      • सबैभन्दा माथिल्लो अदालत
      • यस अदालतबाट मुद्दाको अन्तिम फैसला गरिन्छ।

        समस्या समाधानको लागि कामदारले चाल्नुपर्ने कदमहरु

      • सर्वप्रथम कम्पनीबाटनै समाधान निकाल्ने प्रयत्न गर्ने;
      • कम्पनीको आधिकारिक व्यक्तिहरुबीच छलफल र वार्ता गरेर;
      • शान्तिपूर्ण तरिकाले आफ्ना गुनासो वा समस्या राख्ने।
      • कम्पनीबाट समाधान नभएमा आफ्नो समस्या समाधानको लागि साथीभाई, नेपाली संघसंस्था, वकिल तथा राजदूतावासको सरसल्लाह लिने;
      • र अन्त्यमा कानुनी उपचारमा जाने;
      • श्रम अदालत र अन्य अदालतमा मुद्दा दर्ता गरेर।
      • संसारमै कानूनी प्रक्रिया झन्झटिलो मानिने हुँदा मुद्दा दायर गर्नुअघि राम्ररी सोचविचार गर्ने।

        ओमानमा वैदेशिक रोजगारीको क्रममा रहँदा कामदारले विशेष ध्यान दिनुपर्ने कुराहरु

      • ओमानको साइबर अपराध विरूद्दको कानून २०११ को कोही/कसैले उल्लङ्घन गरेमा कम्तिमा १ महिनादेखी आजिवन कैद जेल सजांयसम्म वा कम्तिमा १०० ओमानी रियालदेखी १००००० ओमानी रियालसम्म वा दुवै जरिवाना हुने भएकोले सो कानूनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू गर्न हुदैन।यसकालागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा गर्न हुदैन।फेसबूक, IMO, WhatsApp, Messenger  वा अन्य माध्यमबाट ओमानी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेण्ट आदि गर्न हुदैन।
      • आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिने।आफैंले पनि आफ्नो फोनबाट ओमानमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्ने।
      • हुण्डी, हवाला वा अन्य कुनै पनि गैर-कानूनी माध्यमबाट रकमको कारोवार गर्न हुदैन।स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउने।
      • आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाइ हाम्रो दायित्व हो।ओमानमा रहदा आफ्नो यो दायित्व पूरा गर्नुहोस्।आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस् ।
      • ओमानमा मदिराजन्य पदार्थको उत्पादन, वेचविखन, ‌ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोवार पूर्ण गैरकानूनी कार्य हो।यस्ता काममा संलग्न नहुने।
      • अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा वाधा पुर्‍याउने, उत्तेजना वा द्वेष फैलाउने, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनैतिक सभा, सम्मेलन, गोष्ठी गर्ने कार्य पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजाय समेत हुने भएकाले यी कुनैपनि कार्यहरू नगर्ने।
      • छुट्टीमा वा करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं ओमानको कानूनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्ने।कुनै अन्य व्यक्तिका कानूनतः वर्जित मालसामान तपाईंले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाईं आफैं हुनुहुन्छ।विगतमा अन्य व्यक्तिको कानूनले प्रतिबन्ध लगाएका सामान ल्याउने/लैजाने गरेका धेरै नेपालीहरु सम्बन्धित निकायको कार्यवाहीमा परेका छन्।तसर्थ, त्यस्ता कार्यमा संलग्न नहुने।
      • स्थानीय कानून, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस् र कानूनी कारवाही हुनबाट बच्ने। ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन्।तसर्थ बाटो काट्न तोकिएको स्थानबाट मात्र बाटो काट्ने गर्नुहोस्।ट्राफिक नियमको उल्लघंन गरी बाटो काटेर निधन भएकाहरुको परिवारले समेत क्षति पाउदैनन्।
      • गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउने।AC कुन हदसम्म चलाउने भन्नेबारे जानकारी राख्नुहोस।दिनभरी घाममा रहेर एकै चोटी धेरै चिसो AC, चिसो पानी वा चिसो पेय पदार्थ उपयोग नगर्ने।
      • पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस।विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस।कम्पनीबाट भागेका व्यक्ति स्वदेश फर्कन तथा विरामी भए उपचार गर्न समस्या पर्छ।साथै यस्ता कामदारको मृत्यु भएमा शव नेपाल पठाउन समेत कठिन हुन्छ।कसैले पनि उहांहरूको जिम्मा लिंदैन ।
      • करार अवधि सकिने मिति यकिन गर्नु पर्दछ।करार अवधिभन्दा बढी बस्न कानूनतः मिल्दैन।करार अवधि सकिनु अघि नैं एक्जिट भिषा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस्।सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस।करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस।एउटा कम्पनीसंगको करार समाप्त भइ अर्को कम्पनीसंग करार गर्ने भएमा ओमान सरकारले उपलव्ध गराएको विधि प्रयोग गर्नुहोस्।
      • आफ्नो अकामा (Resident Card) (फोटोकपि समेत) अरूलाई नदिने।तपाइँको अकमाको पूर्ण जिम्मेवारी तपाइँमा हुन्छ।तपाइँको अकमा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाइँमा आउंदछ र तपाइँ सजायको भागी हुनुहुन्छ।माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस।त्यसरी दिएर गलत कल गरेमा कानून अनुसार तपाइँ पनि कारवाहीमा पर्नुहुनेछ।
      • कम्पनीमा आफुले गर्नुपर्ने दैनिक कामको तालिका (Worksheet) प्राप्त गर्नुहोस।यसबाट तपाईंको अधिकार स्थापित गर्न सहज हुनेछ ।
      • आफुसंगै काम गर्ने अरू देशका कामदारसंग सभ्य व्यवहार गर्नुहोस, झगडा नगर्नुहोस।आफ्नो म्यानेजर वा सुपरभाइजरसंग सम्मानजनक व्यवहार गर्नुहोस। स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीहरुले सामान चोरी गरेका आरोपका मुद्दाहरु खेप्नु पर्ने हुन सक्दछ।तसर्थ, चोरी जस्तो जघन्य अपराध नगर्नुहोस्।
      • विभिन्न कानूनी झण्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमै जानकारी गराउनुहोस।सम्बन्धित प्रहरी वा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझ्नुहोस।अदालतमा भाषा अनुवादक हुन्छन्।उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नु पर्दछ।मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफु सदैव सचेत रहनु पर्दछ।गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनु पर्दछ।
      • सवारी चालकको रूपमा ओमान आएका कामदारहरूले सवारी चालक अनुमति पत्र बेगर सवारी चलाएमा दुर्घटना हुने संभावना हुन सक्दछ।सवारी चालक कामदारले कम्तीमा सवारीको तेस्रो पक्ष वीमाको कागजात, सवारी चालक अनुमती पत्र तथा नभइ नहुने अन्य कागजात नभएका सवारी चलाउनु हुदैन।सवारी चलाउन वाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरण सहित राजदूतावासमा सूचना दिएर राजदूतावासको सुझाव अनुसार अघि बढ्नु पर्दछ।
      • आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा चढाउन हुदैन।कुनै गैरकानूनी काम गरी भागेको मानिसले समेत तपाइको सवारीमा लिफ्ट मागेको हुनसक्दछ।तसर्थ, चनाखो बन्नु पर्दछ।
      • कुनै पनि कागजातहरुमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रष्ट हुनु पर्दछ।कतिपय कम्पनीहरुले कामदारहरुले पैसा सापट लिएको तथा रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरु लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको छ। कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहि/छाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको भरमा कागजातहरुमा सही गर्न हुदैन।कुनै पनि कागजातमा भएको सहीलाई अदालतले बलीयो प्रमाणका लिने गर्दछ।पछि मलाइ थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनु पर्दछ।
      • विरामी भएमा समयमा नैं अस्पताल जानुहोस् र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस।
      • काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस् र सुरक्षाका सामाग्री प्रयोग गर्नुहोस्।