प्रेस विज्ञप्ति
नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ असोज १९ गते राजदूत निवासमा एक विशेष कार्यक्रम आयोजना गरी “Nepalese in Oman” नामक एक Mobile Apps औपचारिक रुपमा उद्घाटन गरियो। उक्त कार्यक्रमको शुरुवात महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल तथा गैर आवासीय नेपाली संघका सचिव श्री डि.बी. क्षेत्रीद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात नेपाली राष्ट्रिय गान बजाइएको थियो।
महामहिम राजदूतज्यूबाट Mobile Apps को विधिवत उद्घाटन पश्चात महामहिमज्यूले सूचना प्रविधिको वर्तमान युगमा ओमानमा रहनु भएका नेपालीहरु तथा ओमान आउन लाग्नुहुने नेपालीहरुलाई नेपाली राजदूतावास, ओमानका प्रमुख गन्तब्यहरु, ओमानका सरकारी निकायहरु, ओमानको श्रम कानून आदिका बारेमा आधारभूत जानकारीहरु दिई सहयोग गर्ने लक्ष्यसहित Nepalese in Oman नामक सो मोबाइल Apps नेपाली राजदूतावासबाट Launch गरिएको र यसले दूतावास तथा ओमानमा रहनुहुने नेपालीहरुबीच छिटो र सरल रुपमा संचार हुने बताउनुभयो। महामहिम राजदूतज्यूले सो Apps ले नेपाली दूतावासबाट दिइने कन्सुलर सेवाहरुलाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवाहरु कागज बिहिन (Paperless) बनाउन सकिनुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु उक्त Apps मा सामेल गरी ओमानीहरुलाई पनि नेपाल भ्रमणको लागि प्रयोग गर्न सकिने बनाइने योजना रहेको र यसरी नेपालको पर्यटन प्रवर्द्धन गर्दै नेपाल-ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु-याउने जानकारी गराउनु भयो।
कार्यक्रममा दूतावासकातर्फबाट Apps को बारेमा बिस्तृत प्रस्तुतीकरण दिइएको थियो।उक्त Apps केही समयको लागि Beta Release गरिएको पनि जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, पत्रकारहरु तथा ओमानमा कार्यरत नेपालीहरु तथा दूतावास परिवार गरी करिव १०० जना नेपालीहरुको सहभागिता थियो। कार्यक्रमको अन्त्यमा नेपाली खानाको व्यवस्था गरिएको थियो।
नेपाली राजदूतावास, मस्कट
असोज १९, २०७५