प्रेस विज्ञप्ति
व्यापार, लगानी, रोजगारी तथा पर्यटन प्रवर्द्धन कार्यक्रम
नेपाली राजदूतावास, मस्कटले २५ जुन २०२५ (२०८२ अषाढ ११) मा व्यापार, लगानी, रोजगारी तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ओमानस्थित प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरू, व्यापारी, हाइपरमार्केट कार्यकारीहरू तथा अन्य विशिष्ट व्यवसायिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात नेपाली परम्परागत पानसमा दीप प्रज्वलन गर्दै नेपालका राजदूत महामहिम डोर्नाथ अर्यालले गर्नुभएको थियो। स्वागत मन्तव्यको क्रममा महामहिम राजदूत अर्यालले ओमानमा कार्यरत नेपाली कामदारहरूको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै Oman Vision 2040 अन्तर्गतको विकास योजनासँग तालमेल गर्दै नेपाली श्रमिकहरूको संख्या बढाउने योजना रहेको जानकारी दिनुभयो। उहाँले श्रमिक आपूर्तिको प्रक्रिया डिजिटल प्रणाली, सेवा सुधार तथा नीतिगत संशोधनमार्फत थप सहज र प्रभावकारी बनाउने नेपाल सरकारको प्रतिबद्धता रहेको व्यक्त गर्नुभयो। साथै, उहाँले नेपालमा जलविद्युत्, पर्यटन तथा ऊर्जालगायत क्षेत्रमा व्यापकरूपमा वृद्धि भइरहेका व्यापार तथा लगानी अवसरहरूबारे उल्लेख गर्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई नेपालमा व्यापार, लगानी तथा पर्यटनको सम्भावनाहरूको लाभ उठाउन निमन्त्रणा गर्नुभयो।
राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले नेपालमा रहेका आकर्षक रोजगारी, निर्यात व्यापार तथा लगानीका सम्भावनाहरूबारे प्रस्तुति दिनुभयो। उहाँले नेपालबाट निर्यात गर्न सकिने सम्भावनायुक्त वस्तुहरूको चर्चा गर्नुका साथै जलविद्युत्, पर्यटन, कृषि तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई लगानीका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। साथै, नेपाली श्रमिकहरू भर्ना गर्न इच्छुक रोजगारदाताहरुका लागि राजदूतावासले प्रदान गर्दै आएको विभिन्न सेवालाई थप सहज र पारदर्शी बनाइदै गएको जानकारी समेत दिनुभयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा, राजदूतावासद्वारा हालै विकास गरिएको अनलाइन मागपत्र प्रमाणीकरणको e-portal अन्तर्गत Web-based नयाँ Application को बारेमा जानकारी दिइएको थियो। सो Application ले मागपत्र प्रमाणिकरणका लागि आवश्यक पर्ने ६ वटा मुख्य कागजातहरू स्वतः तयार पार्ने व्यवस्था गरिएकोले श्रमिक मागपत्र प्रमाणिकरण प्रक्रिया थप सरल र प्रभावकारी बनाउने उद्देश्य राखेको छ। नयाँ Application, मागपत्र प्रमाणिकरण लगायतका विभिन्न विषयमा कम्पनी प्रतिनिधिहरूसँग राजदूतावासका पदाधिकारीहरूले प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।
नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्यले कार्यक्रममा पर्यटन प्रवर्द्धनात्मक भिडियो तथा प्रस्तुतिकरण (PPT) प्रस्तुत गरिएको थियो। कार्यक्रमको समापन नेपाली मौलिक खानासहितको रात्रीभोजसँगै सम्पन्न भएको थियो। साथै, नेपालको हिमशृंखला तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको झल्को दिने फोटो फ्रेमहरू मायाको चिनोस्वरूप सहभागीहरूलाई प्रदान गरिएको थियो।
नेपाली राजदूतावास, मस्कट
२५ जुन २०२५ (२०८२ अषाढ ११)