प्रेस विज्ञप्ति: सगरमाथा दिवस कार्यक्रम
नेपाल राजदूतावास, मस्कटले २९ मे २०२५ मा सगरमाथा दिवसको अवसरमा एक पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गर्यो। यस दिवसले तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले २९ मे १९५३ मा सगरमाथा (माउन्ट एभरेस्ट) को पहिलो सफल आरोहण गरेको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दछ। यस वर्षको कार्यक्रम नेपालको गणतन्त्र दिवसको दिन परेको हुँदा कार्यक्रम अझ विशेष बन्यो।
कार्यक्रममा मुख्य अतिथि His Excellency Dr. Jamal bin Hasan Al-Moosawi, Secretary General of the National Museum of the Sultanate of Oman र विशेष अतिथि His Excellency Ambassador Abdullah al Riyami, Director General of the Cultural Cooperation Department, Foreign Ministry of Oman को गरिमामय उपस्थिति रह्यो। कार्यक्रममा विभिन्न मुलुकका राजदूत, कूटनीतिज्ञ, सगरमाथा आरोही, प्रतिष्ठित व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई कूटनीतिक तथा सांस्कृतिक आदान–प्रदानको समृद्ध स्थल बनायो।
कार्यक्रमको औपचारिक सुरुवात ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालद्वारा परम्परागत पानसमा दियो बालेर गरिएको थियो।
आफ्नो स्वागत मन्तव्यमा राजदूत अर्यालले सगरमाथाको सांकेतिक, पर्यावरणीय र भू–राजनीतिक महत्वलाई दर्शाएका थिए।
राजदूत अर्यालले १६ देखि १८ मे २०२५ मा काठमाडौंमा आयोजित पहिलो "सगरमाथा संवाद" (Everest Dialogue) को माध्यमबाट नेपालले विश्व जलवायु वार्तामा लिएको नेतृत्वको चर्चा गरे। “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने मूल विषयमा केन्द्रित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको समापन २५ बुँदे “सगरमाथा कार्य–आह्वान” को घोषणासहित सम्पन्न भएको थियो। राजदूत अर्यालले उपस्थित सबैलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिँदै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको प्रशंसा गरे।
सगरमाथा आरोहण गरेकी Ms. Nadhira Al Harthy ले आफ्ना प्रेरणादायी अनुभवहरू तथा सगरमाथा चढेको रोचक प्रस्तुतीकरण गर्नुभएको थियो। उनले हालै सम्पन्न सगरमाथा संवादमा सहभागिता जनाएका आफ्ना अनुभव पनि सुनाउनु भयो।
कार्यक्रममा नेपालको मनमोहक हिमशृंखला र सांस्कृतिक विविधता झल्काउने भिडियो प्रस्तुत गरिएको थियो। सो अवसरमा राजदूत अर्यालले Ms. Nadhira Al Harthy लाई परम्परागत खादा ओढाई सम्मान गरे तथा १३ वर्षीया Master Shiva Kochale, जसले अप्रिल २०२५ मा सगरमाथा आधार शिविर पुगेका थिए, लाई पनि सम्मानित गरे। साथै, मुख्य अतिथि लगायत सबै सहभागीहरुलाई स्मृतिस्वरूप सगरमाथाको फोटो फ्रेम प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका द्वितीय सचिव श्री विशेष कुमार साहले गर्नुभएको थियो। रात्रीभोजको समयमा नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता दर्शाउने पावरपोइन्ट प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
सोही दिन बिहान र दिउँसो राजदूतावासले गणतन्त्र दिवसको अवसरमा झन्डोत्तोलन कार्यक्रम तथा छोटो औपचारिक कार्यक्रम आयोजना गर्यो। उक्त अवसरमा महामहिम राजदूतले शुभकामना दिँदै गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
नेपाल राजदूतावास, मस्कट, ओमान
२०८२ जेठ १५ (२९ मे २०२५)