ओमानमा पहिलोपटक सामाजिक सुरक्षा सम्बन्धी विशेष कार्यक्रम।
नेपाली राजदूतावास, ओमानबाट सार्वजनिक बिदाको दिन मिति २०८१।०८।१४ गते (तद्नुसार २०२४ नोभेम्बर २९) बिहान ९ बजेदेखि बेलुका ०६ बजेसम्म राजदूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने कार्य र श्रम तथा कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो।
ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले परम्परागत पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो। कार्यक्रममा बोल्दै राजदूत अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्व बारेमा प्रकाश पार्नुभएको थियो। राजदूत अर्यालले उत्साहजनक सहभागिताका लागि खुसी व्यक्त गर्दै कार्यक्रमका लागि खटिने सामाजिक सुरक्षा कोष एवम् राजदूतावासका कर्मचारीहरू, नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा स्वयंसेवकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक श्री विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो।
उक्त कार्यक्रमका लागि सामाजिक सुरक्षा कोष, काठमाडौंबाट उपकार्यकारी निर्देशक श्री विवेक पन्थी, , सहायक निर्देशक सुश्री राधिका निरौला र सूचना प्रविधि अधिकृत श्री राजेश चापागाई सम्मिलित तीन सदस्यीय टोली ओमानको भ्रमणमा रहेको छ।
सो कार्यक्रममा श्रम तथा कन्सलर सम्बन्धी अलग डेक्स खडा गरेर सेवाग्राहीहरुलाई जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको संयोजन राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साह र श्रम सहचारी श्री गोविन्द प्रसाद आचार्यले गर्नु भएको थियो। सेवाग्राहीहरूको आउने जाने क्रम र समूह समूहमा अभिमुखीकरण गर्ने कार्य दिनभरि नै चलेको थियो। हिजो र आज गरी करिब २१५ जना सेवाग्राहीहरुले यो सेवा लिनु भयो। आज छुट भएका सेवाग्राहीहरुलाई पुन यो सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूलाई सामाजिक सुरक्षा प्रणालीका बारेमा पयाप्त जानकारी नभएको पाइयो। साथै सेबाग्राहीहरूले ओमानमा पहिलो पटक यो सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता किसिमका सेवालाई निरन्तरता दिनका साथै सामाजिक सुरक्षा र श्रम स्वीकृति सम्बन्धी सेवा पनि राजदूतावासबाटै प्रदान गर्न अनुरोध गर्नु भएको थियो।
नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक विदाकै दिनमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षा सम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको हो।
राजदूतावासको आयोजनामा सन् २०२४ नोभेम्बर ३० का दिन ओमानको सोहार सहरमा यस्तै किसिमको शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ। यसका साथै सन् २०२४ डिसेम्बर २ सोमबारका दिन सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी आगामी दिनमा नयाँ प्रशिक्षक मार्फत सामाजिक सुरक्षामा आवद्धता सम्बन्धी जानकारी एवं सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ।
२९ नोभेम्बर २०२४
नेपाली राजदूतावास, मस्कट
ओमान