आज मिति २०८१ श्रावण २५ गते तद्नुसार २०२४ अगस्ट ०९ का दिन परराष्ट्र सचिव श्री सेवा लम्सालज्यूले ओमानस्थित नेपाली संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुसँग नेपाल घर मस्कटमा अन्तरक्रिया गर्नुभयो।
उक्त अन्तरक्रियामा सहभागीहरुले व्यक्तिगत मागपत्र प्रमाणकरण, घरेलु महिला कामदार, नेपाली श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन, पर्यटन, व्यापार,लगानी, ओमानमा नेपालीहरुको लागि रोजगार, नेपाल-ओमान बीच सीधा हवाई उडान लगायतका विषयमा राय, सुझाव तथा जिज्ञासा राख्नुभएको थियो। परराष्ट्र सचिवज्यूले सहभागीहरुले उठाउनु भएको विषयमा जवाफ दिदै मध्यपूर्व एसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको हित संरक्षणको लागि नेपाल सरकारले गरेको प्रयासबारे प्रकाश पार्नुभयो। साथै समस्याको दीर्घकालीन समाधानको लागि नीतिगत सुधार सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावलाई समावेश गर्न आवश्यक पहले गर्ने प्रतिबद्धता जनाउँदै राय-सुझावका लागि सबैजना प्रति कृतज्ञता व्यक्त गर्नुभयो। नेपाली राजदूतावासले गरेको कामलाई प्रशंसा गर्दै नेपाली समूदायको हित प्रवर्द्धनमा थप अग्रसर हुन निर्देशन दिनुभयो। उहाँ नेपाल र ओमान बीचको दुईपक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान आउनुभएको थियो र आजै साँझ नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
सो अन्तरक्रिया कार्यक्रममा राजदूत अर्याल लगायत राजदूतावासका कर्मचारीहरू नेपालबाट आउनुभएको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख श्री शरदराज आरण, शाखा अधिकृत श्री उद्धव न्यौपानेको समेत उपस्थिति थियो।
नेपाली राजदूतावास, मस्कट
२०८१ श्रावण २५