Virtual Meeting of Foreign Secretary with GCC based Nepali Ambassadors-06 Aug 2024
आज मिति २०८१ श्रावण २२ गते तद्नुसार २०२४ अगस्ट ०६ का दिन नेपाल र ओमान बीचको परामर्श संयन्त्रको प्रथम बैठकको लागि ओमान आउनु भएका श्रीमान् परराष्ट्र सचिव श्री सेवा लम्सालज्यूको अध्यक्षतामा मध्यपूर्व एशियास्थित नेपाली नियोगका महामहिम राजदूतज्यूहरु, कार्यवाहक राजदूतज्यूहरु, महावाणिज्यदूतज्यू, श्रम काउन्सेलरहरु एवं श्रम सहचारीहरु लगायत नियोगमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक भर्चुअल बैठक आयोजना गरियो।
उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन लगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा श्रोत-साधनको व्यवस्थापन आदि विषयमा विस्तृत रुपमा छलफल गरियो।
सो अवसरमा परराष्ट्र सचिवज्यूबाट डिजिटल सुशासन लागू गर्ने नेपाल सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिनुभयो। साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका रहनुपर्ने बताउँदै आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक काम गर्न निर्देशन दिनुभयो।
नेपाली राजदूतावास, मस्कट
२०८१ श्रावण २२