प्रवर्द्धन र अन्तरक्रिया-२०८१ असार २९

प्रवर्द्धन र अन्तरक्रिया-२०८१ असार २९

व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

 नेपाली राजदूतावास, मस्कटले १३ जुलाई २०२४ (२०८१/०३/२९) मा निर्यात, व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया आयोजना गरेको थियो। नेपालको निर्यात, व्यापार र लगानीका अवसरहरू प्रवर्द्धन गर्न, नेपाली कामदारका लागि नयाँ रोजगारीका अवसरहरू खोज्न र ओमानमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न नेपाली समुदायका सदस्यहरूबाट सुझाव एवं सहयोगको प्रतिवद्धताको लागि उक्त अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा नेपाली व्यवसायी, ओमानस्थित नेपाली संघसंस्था र नेपाली बैंकका प्रतिनिधि, प्रतिष्ठित नेपाली व्यक्तित्व र नेपाली समुदायका स्वयंसेवकहरु लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै राजदूत डोरनाथ अर्यालले नेपालको व्यापार कारोवारलाई सन्तुलित बनाउन नेपाली उत्पादनको प्रवद्र्धन र नेपालका ठूला आयोजनामा ​​वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो। राजदूत अर्यालले नेपाली कामदारका लागि सुरक्षित र मर्यादित रोजगारीको अवसरले नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने दर्शाउनुभयो। उनले उपस्थित सबैलाई नेपाल लाई ब्रान्ड स्वरुप ओमानी नागरिकको मनपर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न र नेपाली सम्पदा, संस्कृति र साहित्यको ओमानमा प्रवर्द्धन गर्न हरेक अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो। राजदूत अर्यालले दूतावासलाई निरन्तर सहयोग गरेकोमा नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम प्रस्ताव गर्दै सोको लागि सुझाव माग्नुका साथै आगामी वर्ष विभिन्न कार्यक्रम आयोजना गर्न ओमानमा रहेका नेपाली संघसंस्थासँग सहकार्य गर्न अनुरोध गर्नुभयो।
नेपाली समुदायका प्रतिनिधिहरुले अन्तरक्रियामार्फत दूतावासको आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुमा समेट्न सकिने महत्वपूर्ण सुझावहरु प्रस्तुत गरेका थिए। उनीहरुले दूतावासका गतिविधिलाई सहयोग गर्ने र व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धनमा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सबै सहभागीहरूले अन्तरक्रियामा सक्रियतापूर्वक संलग्न रहनुका साथै आगामी वर्षमा कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा नेपाली समुदायबाट सुझाव र विचार खोज्न राजदूतावासले गरेको पहलप्रति खुशी व्यक्त गरेका थिए।
अन्तरक्रिया पछि महामहिम राजदूत डोरनाथ अर्यालज्यूको अध्यक्षतामा विकास कूटनीतिको स्थायी समितिको बैठक बसेको थियो। नेपाली समुदायले दिएको सुझावलाई समीक्षा गरी समितिले केही महत्वपूर्ण निर्णय गर्यो।
अन्तरक्रिया कार्यक्रम र विकास कूटनीतिको स्थायी समितिको बैठकलाई राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले समन्वय गरेका थिए।

नेपाली राजदूतावास, मस्कट, ओमान

१३ जुलाई २०२४