A.D.:
Nepal Samvat: 1146 POHELAGA DASHAMI - 25
हुण्डी कारोबार निरुत्साहन गर्न सहयोग गर्ने सम्बन्धी जरुरी सूचना
अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) एक गैरकानूनी कार्य हो। सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक माध्यमको प्रयोग गरी नेपालतर्फ र नेपालबाट विदेशतर्फ विप्रेषण कारोबार (हुण्डी) हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रही आएको छ। अनौपचारिक विप्रेषण कारोबार (हुण्डी) ले मुलुकमा वैदेशिक मुद्राको कमी भई शोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउनुका साथै अन्तर्राष्ट्रिय निकाय एवम् अन्तर्राष्ट्रिय समुदायको निगरानीमा पर्न गई मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्न जान्छ।
“विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गरेको वा संकलित रकम नेपाल नपठाएको” गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने नीतिगत व्यवस्था भएबमोजिम यस राजदूतावासले कार्य गरिरहेको छ।
अतः ओमानमा रहनुहुने नेपाली नागरिक वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा बैंकिङ्ग च्यानलको मात्र प्रयोग गर्नु/गराउनुहुन अनुरोध गरिन्छ। साथै, कसैले अनौपचारिक माध्यमको प्रयोग गरी विप्रेषण कारोबार (हुण्डी) गरेको सूचना/जानकारी आफूसँग भए त्यस्तो कार्य गर्ने/गराउने व्यक्ति वा संस्थाको विवरण यस राजदूतावासको इमेल eonmuscat@mofa.gov.np ठेगानामा पठाई हुण्डी कारोबारलाई निरूत्साहित गर्ने कार्यमा सहयोग पुर्याउनुहुन सम्पूर्ण नेपाली समुदायसमक्ष अनुरोध छ। यहाँहरुले दिनुभएको जानकारी अत्यन्त गोप्य रहने व्यहोरा समेत अनुरोध गरिन्छ।
नेपाली राजदूतावास, मस्कट, ओमान
२३ डिसेम्बर २०२५ (०८ पुस २०८२)