महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६

निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर- २०८२ अषाढ १३- 27 June 2025

निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर- २०८२ अषाढ १३- 27 June 2025

निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर- २०८२ अषाढ १३- 27 June 2025

 

ओमानमा नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर

नेपाली राजदूतावास, मस्कटले ओमानस्थित बदर अल समा अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्यमा आज २७ जुन २०२५ (२०८२ अषाढ १३) का दिन बदर अल समा अस्पतालका डाक्टरहरूबाट निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरियो। सो अवसरमा प्लस पावर हुनेहरूको हकमा तत्काल सिसा सहितको चस्मा उपलब्ध गराइएको थियो। माइनस पावर हुनेको हकमा आवश्यकता अनुसार नेपालबाट चस्मा तयार गरी निःशुल्क रूपमा उपलब्ध गराइनेछ। नेपाल नेत्रज्योति संघले नेपाली राजदूतावाससँग सहकार्य गरेर आँखा जाँच गरी निःशुल्क रूपमा विदेशमा चस्मा वितरण गरेको यो पहिलोपटक हो। आँखा जाँचको लागि आउने सेवाग्राहीहरूको लागि निःशुल्क रूपमा सुगर तथा ब्लड प्रेसरको जाँच पनि गरिएको थियो।

आजै बिहान बदर अल समा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री समिर पी.टीले राजदूत डोरनाथ अर्याल र एशोसिएट प्रोफेसर डा. पुष्पा गिरी श्रेष्ठलाई अस्पतालमा स्वागत गर्नुभएको थियो। साथै नेपाल नेत्रज्योति संघका तर्फबाट भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक एशोसिएट प्रोफेसर डा. पुष्पा गिरी श्रेष्ठ र बदर अल समा अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री समिर पी.टीले राजदूत अर्यालको उपस्थितिमा एक समझदारी पत्रको आदानप्रदान गर्नुभएको थियो। सो अवसरमा अस्पतालका उच्च पदस्थ कर्मचारीहरू र राजदूतावासका कर्मचारीहरूको उपस्थिति थियो।

साथै हिजो २६ जुन २०२५ का दिन ओमानको परराष्ट्र मन्त्रालयको समन्वयमा एशोसिएट प्रोफेसर डा. पुष्पा गिरी श्रेष्ठ र ओमानका अल नाहदा अस्पतालको नेत्र विज्ञान विभागका प्रमुख Dr. Nasra Alhabsi बीच एक बैठकको आयोजना गरिएको थियो। बैठकमा नेपाल एवं ओमानका आँखा जाँच एवं नेत्र विज्ञान सम्बन्धी असल अभ्यास र भविष्यमा सहकार्यको बारेमा छलफल भएको थियो।

उक्त बैठकहरू तथा बदर अल समा अस्पतालसँग भएको समझदारीबाट नेपाल र ओमानमा नेत्र विज्ञानको क्षेत्रमा सहकार्य गर्न, एकअर्काका राम्रा पक्षहरू आदानप्रदान गर्न र भविष्यमा यस्ता खालका निःशुल्क शिविरहरू सञ्चालन गर्न सहज र कोशेढुङ्गा सावित हुनेछ।

यसअघि ०४ जनवरी २०२४ मा नेपाली राजदूतावास, मस्कट र बदर अल समा अस्पतालले नेपाली समूदायको लागि स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका थिए।

अनलाइन मार्फत समय बुक गरिएको हुनाले बिना भिडभाड सहज र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न भएको थियो। ओमानमा चस्मा र सिसा बनाउन महँगो पर्ने हुँदा सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित भएका थिए। भविष्यमा ओमानका अन्य सहरहरूमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली राजदूतावास मस्कट, बदर अल समा अस्पताल परिवार र नेपाल नेत्रज्योति संघ, शिविरमा खटिने नेपाली स्वयंसेवक साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ।

 

नेपाली राजदूतावास, मस्कट, ओमान

२७ जुन २०२५ (२०८२ अषाढ १३)