प्रेस विज्ञप्ति
नेपाल-ओमान मैत्रीपूर्ण हाइकिङ
आज १० मे २०२५ शनिवारको दिन नेपाली राजदूतावास, मस्कटले नेपाल-ओमान मैत्रीपूर्ण हाइकिङको आयोजना गर्यो। नेपाली र ओमानी समुदायहरूबीच मैत्री सम्बन्ध विकास गर्ने, स्वास्थ्य प्रवर्द्धन गर्ने र वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो हाइकिङको आयोजना गरिएको थियो।
ओमानको रियाम पार्कबाट बिहान ५:२० बजे सुरु भएर मत्रा फोर्ट हुँदै रियाम पार्कमा फर्केर हाइकिङ अन्त भएको थियो। करिब २ घण्टा अवधिको उक्त हाइकिङमा राजदूत श्री डोरनाथ अर्याल, पहिलो ओमानी महिला सगरमाथा आरोही श्री नादिरा अल हारथी, राजदूतावासका कर्मचारीहरू र परिवारका सदस्यहरू, नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरु, ओमानी पत्रकारहरु तथा सामाजिक सञ्जालमा ख्याति प्राप्त व्यक्तिहरु गरी ४६ जनाको सहभागिता थियो।
ओमानको परराष्ट्र मन्त्रालय मार्फत आपत्कालीन अवस्थामा आवश्यक सुरक्षाको प्रबन्ध गरिएको थियो। हाइकिङ सुरु हुन अघि ओमानी सगरमाथा आरोही श्री नादिरा अल हारथीले हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा बताउनुभएको थियो।
ओमानको अत्यन्त रमणीय दृश्य देखिने उक्त हाइकिङ ट्रेलमा सबै सहभागी निकै रमाउनुभएको थियो। सो हाइकिङ रुट प्राय: उत्तर मोहडा पर्ने हुनाले गर्मीको मौसममा पनि बिहान र साँझ सहजै हाइकिङ गर्न सकिन्छ।
वातावरणीय सजगताको लागि उक्त ट्रेलमा भएका प्लास्टिकका बोतल लगायतका फोहोर सहभागिहरुले हाइकिङको क्रममा संकलन गरेका थिए।
अन्तमा, राजदूत अर्यालले सहभागी सबैलाई धन्यवाद दिँदै आफूले पनि उक्त हाइकिङ ट्रेलमा धेरैपटक हाइकिङ गरेको, हाइकिङ रुटबाट ओमानको अत्यन्त रमणीय दृश्य देखिने र बाटामा पर्ने रङ्गीबिरङ्गी चट्टानहरू, पानी सहितको खोल्सा, केही रुख बिरुवा आदिले सबैलाई आकर्षण गर्ने कुरा बताउनुभयो।
नेपाली राजदूतावास
मस्कट, ओमान
१० मे २०२५ (२७ वैशाख २०८२)