प्रेस विज्ञप्ति
ओमानको असल अभ्यास र श्रम सचेतना सम्बन्धी अन्तरक्रिया
नेपाली राजदूतावास, ओमानले बुद्ध जयन्तीको अवसरमा मिति 2082 बैशाख 26 गते (तद्नुसार 09 मे 2025) को दिन नेपाल घरमा नेपाली समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रमा काम गर्ने विज्ञहरूबीच ओमानबाट उहाँहरूले सिकेका कुरा नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बिषयमा एक अन्तरक्रिया र श्रमिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गर्यो। स्वागत मन्तव्यको क्रममा राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको अवसरमा सबैलाई शुभकामना दिँदै भगवान गौतम बुद्धको सिद्धान्तहरु र हामीले सिक्ने शिक्षा सम्बन्धमा प्रकाश पार्नु भएको थियो।
सो कार्यक्रममा ओमानबाट आफूले सिकेका कुरा नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बिषयमा ओमानको Civil Aviation Authority मा Airspace Design Specialist को रूपमा कार्यरत श्री सुवर्णराज उपाध्याय, नेपाली सोसल क्लबका अध्यक्ष श्री सुरेश खडका, नेपाली सोसल क्लबका पूर्वअध्यक्ष तथा पाइलट श्री बिकल झा, ओमानमा कार्यरत इन्जिनियरहरू श्री टीका धिताल र श्री खगेन्द्र रिजालले आ-आफ्नो विषयहरुमा प्रस्तुतीकरण गर्नु भएको थियो।
साथै सो अवसरमा राजदूत अर्यालले कार्यक्रममा संस्थागत मागपत्र प्रमाणीकरणका लागि ओमानमा पेश गर्नुपर्ने बिभिन्न ६ प्रकारका कागजातहरू एक पटक गरेको प्रबिष्टिबाट सबै कागजात एकै पटक जेनेरेट हुने गरी तयारी गरिएको एप्लिकेशनको शुभारम्भ गर्नु भयो। यसबाट मागपत्र पेश पर्ने रोजगारदाता कम्पनी र राजदूतावास दुवैलाई निकै सहज हुनेछ।
नेपाली राजदूतावासका श्रम सहचारी श्री दामोदर ज्ञवालीले ओमान सरकारले 31 जुलार्इ 2025 सम्मका लागि छुट अवधिमा स्वदेश फिर्ती हुन भिसा सकिएका विदेशी नागरिहरुको लागि सुचारु गरेको सेवाको बारेमा जानकारी दिँदै भिसा सकिएर जरिवानाको कारण नेपाल जान नसकेका नेपाली नागरिकहरूलार्इ नेपाल फिर्ता हुन आ-आफ्ना तर्फबाट सहयोग पुर्याउन सबैलार्इ अनुरोध समेत गर्नुभएको थियो। राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले १० मे २०२५ मा आयोजना हुने नेपाल-ओमान मैत्रीपूर्ण हाइकिङको बारेमा जानकारी दिनुका साथै सो हाइकिङमा सहभागी हुन उपस्थित सबैलाई अनुरोध गर्नुभएको थियो।
कार्यक्रममा राजदूतावासका कूटनीतिक तथा स्थानीय कर्मचारीहरू, ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरू, बिषय विज्ञहरू, धेरै अनुयायीहरू भएका सामाजिक सञ्जाल अभियानकर्ताहरू गरी ५४ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेपाली राजदूतावासका श्रम सहचारी श्री दामोदर ज्ञवालीले गर्नु भएको थियो।
नेपाली राजदूतावास, मस्कट
२०८२ वैशाख 2७