आज मिति २०८१ फागुन ०६ गते तदनुसार २०२५ फेब्रुअरी १८ का दिन 8th Indian Ocean Conference तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनु भएका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको समुपस्थिती तथा ओमान लगायत खाडी समन्वय परिषद् (Gulf Cooperation Council) स्थित नेपाली नियोगका महामहिम राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीहरु लगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा नेपाली राजदूतावास, ओमानले एक भर्चुअल बैठक आयोजना गर्यो।
उक्त बैठकमा महिला घरेलु कामदार लगायत नेपाली श्रमिकको उद्धार- सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापन लगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौतीहरू र समाधानका उपायहरु, आर्थिक, साँस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयामहरू - व्यापार, लगानी, पर्यटन, सँस्कृति, भाषा, भेषभूषा, बाजागाजा, खानाका परिकार तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समूदाय तथा सामाजिक संघ-संस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध श्रोत-साधनको प्रभावकारी व्यवस्थापन तथा उपयोग लगायतका विषयमा विस्तृत रुपमा छलफल गरियो। छलफलका क्रममा प्राप्त सुझावहरूलाई समावेश गरी उठान भएका विषयहरू उपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायहरूबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भयो ।
बैठकमा उपस्थितजनलाई सम्बोधन गर्दै माननीय परराष्ट्र मन्त्रीज्यूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो र पूर्वानुमानयोग्य बनाउने नेपाल सरकारको नीति रहेको जानकारी गराउँदै यो महत्वपूर्ण उदेश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको अहम भूमिका रहेको कुरा उल्लेख गर्नुभयो । यसका लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न पनि वहाँले निर्देशन दिनुभयो । विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रुपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनु पर्ने कुरामा वहाँले जोड दिनुभयो । साथै, वहाँले डिजिटल सुशासन कायम गर्ने नेपाल सरकारको नीति बमोजिम मागपत्र प्रमाणीकरण लगायत नियोगको सेवा प्रवाहलाई चुस्त-दुरूस्त, मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिनुभयो। नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरुले विशेष सक्रियाता देखाउन तथा सम्बन्धित मन्त्रालयहरुले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा कुनै व्यवधान देखिएमा बाधा अड्काउ फुकाउन मन्त्रालय तत्पर रहेको जानकारी गराउनु भयो।
बैठक पश्चात माननीय परराष्ट्रमन्त्रीज्यूले ओमानस्थित नेपाली संघ-संस्थाका प्रतिनिधि, राजदूतावासका स्वयम्‌सेवक तथा नेपाली समूदायका अगुवाहरुसँग अन्तरक्रिया गर्नुभयो। यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै माननीय मन्त्रीज्यूले सबैलाई ईमान्दारीपूर्वक काम गरी नेपालको सम्मान अभिबृद्धि गर्न आह्वान गर्नुभयो। यसै प्रसंगमा नेपाल सरकारले नेपाली श्रमिकहरुको हक-हित र सेवा-सुविधाको सुरक्षा एवं प्रवर्द्धनको लागि आवश्यक नीतिगत, संस्थागत तथा कानूनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि वहाँले दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रम पश्चात हाल ओमान भ्रमणमा रहनुभएका माननीय परराष्ट्र मन्त्रीज्यू तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा महामहिम राजदूत श्री डोरनाथ अर्यालले रात्रीभोजको आयोजना गर्नुभएको थियो। उक्त रात्रीभोजमा ओमानमा रहँदै आउनुभएका करिव ७० जना नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति तथा सहभागिता रहेको थियो।
माननीय परराष्ट्रमन्त्रीज्यू तथा वहाँको प्रतिनिधिमण्डल ओमानको भ्रमण सम्पन्न गरी १९ फेब्रुअरी २०२५ का दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाली राजदूतावास, मस्कट
२०८१ फागुन ०६ (18 February 2025)