श्रमिक सचेतना सम्बन्धी कार्यक्रम

श्रमिक सचेतना सम्बन्धी कार्यक्रम
राजदूतावासले मिति २०७९ माघ २७ गते राजदूतावासको हलमा श्रमिक सचेतना सम्बन्धी एक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विशेष गरी ओमानमा गर्न हुने र नहुने कुराहरु, ओमानको श्रम कानूनको मुलभूत पक्षहरु, श्रम स्वीकृत लिएर विदेशमा काम गर्ने कामदारहरुले आरक्षित शेयरमा लगानी गर्ने तरिका, औपचारिक तथा बैंङ्किग माध्यमबाट नेपालमा रकम पठाउने तरिका, मानव तस्करीबाट बच्ने तथा पीडितहरुले उजुरी तथा कानूनी कारवाही गर्ने तरिका, नेपाल तथा ओमानमा सामाजिक सुरक्षामा आवद्ध हुने तरिका, सामाजिक संजालको प्रयोग र ओमानमा यस सम्बन्धी कानूनी व्यवस्था, राहदानी तथा कन्सुलर सेवा सम्बन्धी विषयहरु लगायतमा प्रस्तुतीकरण गरिएको थियो । राजदूतावासका प्रथम सचिव श्री सोमेश थापा र श्रम सहचारी श्री गोविन्द प्रसाद आचार्यले संयुक्तरुपमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको शुरूवातमा राजदूत डोरनाथ अर्यालले स्वागत मन्तब्य दिंदै सबै नेपाली देशको प्रतिनिधि भएको र सबैको बोली, व्यवहार, इमान्दारिता, काम तथा चालचलनले समष्टिगत रुपमा नेपाललाई प्रतिबिम्वित गर्ने हुनाले विशेष ध्यान दिन अनुरोध गर्नुभयो । साथै उहाँले श्रमिक उद्दार, मानवतस्कारी सम्बन्धी बिषय लगायतका अत्यावश्यक कामका लागि सातै दिन चौबीसै घण्टा उठ्ने गरी चारवटा मोवाइल फोन राजदूतावासकाे वेबसाइटमा सार्वजनिक गरिएको, कुनै गुनासो भयो, फोन उठेन भने गुनासो सुन्ने अधिकृत तथा प्रवक्ता तोकी मोवाइल फोन सार्वजनिक गरिएको र सो गर्दा पनि कुनै फोनहरु लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय भएमा वेबसाइटमा राजदूतको मोवाइल नंम्बर नै सार्वजनिक गरिएको कुरा बताउनु भयो ।
करिब १४० जनाको सहभागिता भएको उक्त कार्यक्रम नेपाली राजदूतावास ओमानको फेसबुक पेजमार्फत लाइभ पनि गरिएको थियो । खुलारुपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष, सोसल क्लब ओमानका अध्यक्ष लगायत ओमानमा रहेका सबै नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिरु, नेपाली बैङ्किङ्ग तथा वित्तीय क्षेत्रका ओमान प्रतिनिधिहरूको पनि उपस्थिति थियो । कार्यक्रमको अन्त्यमा नेपाली पञ्चेबाजा समूह ओमानका कलाकारहरुले पञ्चेबाजा बजाएर मनोरञ्जन दिलाएका थिए। कार्यक्रमको संचालन राजदूतावासका तृतीय सचिव श्री कबिता खनालले गर्नु भएको थियो ।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७९ माघ २८ गते शनिवार