प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको जनशक्ति मन्त्रालयका मन्त्री माननीय शेख अब्दुल्लाह बिन नासेर अल् बक्रीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त अवसरमा महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा श्रम सम्बन्धी विविध विषयमा छलफल भयो।

उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको श्रम सम्बन्धलाई अझ सहज तथा पहुँचयोग्य बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने श्रम सम्झौताको हस्ताक्षर गर्ने सम्बन्धमा ओमनका मन्त्रीज्यूको समय सम्बन्धी जानकारी लिँदै नेपालबाट त्यस सम्बन्धमा अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।माननीय मन्त्रीज्यूले श्रम सम्झौताका लागि नेपालको तदारूकताको प्रसंशा गर्दै ओमन उक्त सम्झौता गर्न व्यग्रताका साथ प्रतिक्षारत रहेको जानकारी गराउनु भयो। ओमनमा काम गर्ने नेपालीहरूबारे सकारात्मक धारणा राख्दै माननीय मन्त्रीज्यूले ओमन कामदारहरूको लागि सुरक्षित गन्तव्य रहेको उल्लेख गर्दै धेरै भन्दा धेरै नेपालीलाई स्वागत गर्न इच्छुक रहेको समेत जानकारी गराउनु भयो।

उक्त बैठकमा ओमनको श्रम मन्त्रालयका बरिष्ठ पदाधिकारीहरू तथा नेपाली दूतावासका द्वितीय सचिव समेतको उपस्थिति थियो।
नेपाली राजदूतावास, मस्कट

२०७६ असोज १३ गते, सोमबार।

Ambassador with Minister of Manpower and other members