नेपाली राजदूतावास, मस्कटद्वारा प्रेषित विगत १० महिनाका कार्यहरुको प्रगति विवरण


प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७४ चैत्र ५ गते दूतावासले ओमानस्थित नेपाली संघसंस्थाहरु तथा पत्रकारहरुको माझ विगत १० महिनाका कार्यहरुको प्रगति विवरण पेश गरेको छ। उक्त कार्यक्रमको शुरुवात महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल तथा गैर आवासीय नेपाली संघका सचिव श्री डि.बी. क्षेत्रीद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात नेपाली राष्ट्रिय धुन बजाइएको थियो भने गत २०७४ फाल्गुन २८ गते काठमाडौंमा भएको यु.एस. बाङ्गलाको विमान दुर्घटनामा मृत्यु हुनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा दूतावासका द्वितीय सचिव श्री रोजिना ताम्राकारले दूतावासले विगत १० महिनामा गरेका कार्यहरुको प्रगति विवरण पेश गर्नु भएको थियो। सो विवरणका केही प्रमुख भागहरु निम्नानुसारको रहेका छन्:

१) ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल मिति २०७४ जेठ १० गते ओमानको राजधानी मस्कट आइपुग्नु भई पदभार ग्रहण गर्नुभएको थियो र वहाँले आफ्नो वहदाको प्रमाणपत्रको ट्रु कपी ओमानका परराष्ट्र मन्त्री महामहिम Yusuf Bin Alawi Bin Abdulla लाई मिति २०७४ जेठ २१ गते पेश गर्नु भएको थियो।
२) महामहिम राजदूतले नेपाल-ओमानको द्विपक्षीय सम्बन्ध सुधारका सन्दर्भमा ओमानका उपप्रधानमन्त्री मन्त्रीहरु, शुरा काउन्सिल तथा स्टेट काउन्सिलका अध्यक्षहरु, सदस्यहरु तथा अन्य धेरै सरकारी एवं गैरसरकारी उच्च पदाधिकारीहरु र मस्कटस्थित अन्य देशहरका नियोग प्रमुखहरुसंग छलफल गर्नु भएको छ।
३) गत २०७४ जेठ १९ गते नेपाली राजदूतावास, मस्कटले ओमानमा रहनुभएका नेपालीहरुका साथ १०औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको थियो। उक्त कार्यक्रममा नवनियुक्त महामहिम राजदूतज्यूलाई स्वागत तथा सम्मान समेत गरिएको थियो।

४) २०७४ असार २२ गते नेपाली कला-संस्कृति, पर्यटन, वैदेशिक रोजगार, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्धेश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व अध्यक्ष तथा हाल विशिष्ट सदस्य श्री चण्डी राज ढकाल तथा ओमानमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुलाई आमन्त्रणा गरी एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो।
५) २०७४ असोज ०४ गते नेपाली राजदूतावास मस्कटले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा ओमानको ग्राण्ड हयात होटेलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा आयोजना गरिएको थियो जसमा ओमानका सरकारी निकाय, मस्कटस्थित कूटनीतिक समुदाय तथा नेपालीहरु गरी करिब २०० जनाको सहभागिता थियो। सो कार्यक्रमका ओमानका पर्यटन मन्त्री श्री अहमद बिन नासिर बिन हमाल अल महराजी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने अन्य २० जना शुरा काउन्सिल तथा स्टेट काउन्सिलका सदस्यहरु पनि विशेष अतिथिका रुपमा उपस्थित थिए।
६) २०७४ असोज ०९-१२ गतेसम्म ओमानमा पहिलोपटक नेपालका तत्कालीन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको उच्चस्तरीय भ्रमण भएको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमण टोलीमा तत्कालीन माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री कृष्ण बहादुर महारा, माननीय श्रम तथा रोजगार मन्त्री श्री फरमुल्ला मन्सुर, माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री श्री आशा कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो। उक्त भ्रमणका क्रममा उच्च स्तरीय भेटघाटहरु भई दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने सम्बन्धमा विभिन्न वार्ताहरु भएका थिए।सो भेटघाटका क्रममा नेपाल-ओमानबीचको श्रम सम्झौता सम्पन्न गर्ने सम्बन्धमा थप छलफल भएको थियो र सो प्रकृया हाल धेरै अगाडी बढिसकेको छ र छिट्टै नै नेपाल-ओमानबीचको श्रम सम्झौता हुँदैछ।
७) २०७४ असोज १० गते सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली राजदूताबास, मस्कटको सहयोगमा परराष्ट्र मन्त्रालयले खाडीस्थित नेपाली राजदूतावासहरु तथा कन्सुलेटका महामहिम राजदूत एवं नियोग प्रमुखज्यूहरुको एक सम्मेलन आयोजना गरेको थियो। सो सम्मेलनमा नेपाली दूतावासहरुका कार्य विवरणहरु, विद्यमान समस्याहरु तथा समाधानका सुझावहरु प्रस्तुत गरिएको थियो। उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नियोगका आगामी कार्यदिशाका लागि मार्ग निर्देशन दिनुभएको थियो। सोही साँझ राजदूत निवासमा ओमानमा रहेका नेपालीहरु र सम्माननीय प्रधानमन्त्रीज्यू तथा प्रतिनिधिमण्डलज्यूहरुबीच एक अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।
८) सोही भ्रमणका अवसरमा २०७४ असोज ११ गते नेपाल र ओमान बीच Bilateral Consultation Mechanism सम्बन्धी MOU पनि हस्ताक्षर भएको थियो। उक्त
MOU मा नेपालका तर्फबाट महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल तथा ओमानका तर्फबाट ओमानका परराष्ट्र मन्त्रालयका दक्षिण एशिया महाशाखा प्रमुख महामहिम श्री शेख हिलाल मरहुन अल मामरीले हस्ताक्षर गर्नु भएको थियो भने माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री कृष्ण बहादुर महारा साक्षी बस्नु भएको थियो। सो सम्झौता का आधारमा दुई देश बीचका विविध सम्बन्धहरुको सिलसिलामा प्रत्येक वर्ष छलफल गर्ने र विविध कर्यक्रमहरु आयोजना गरिनेछ।ओमानका परराष्ट्र मन्त्री ज्यूले नेपाल भ्रमणको निम्तो स्वीकार गरिसक्नु भएको हुनाले छिट्टै पायक समयमा वहाँको नेपाल भ्रमण हुँदैछ।
९) मिति २०७४ असोज ३० गते मा ओमानको Public Prosecution ले मानव तस्करी (Human Trafficking) रोकथाम तथा नियन्त्रण सम्बन्धी ओमान सरकारद्वारा आयोजित एक प्रेस सम्मेलनमा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालले सहभागिता जनाउनु भएको थियो। सो सम्मेलनमा ओमानले मानव तस्करी (Human Trafficking) रोकथाम तथा नियन्त्रण गर्न “ऐहसान” नामक ३ महिने मिडिया अभियान (Media Campaign) संचालन गर्न लागेको व्यहोरा अवगत गराइएको थियो। सो अभियानको उद्देश्य ओमानमा हुने मानव तस्करीलाई नियन्त्रण गर्ने, तस्करहरुलाई कानूनी दायरामा ल्याउने, पीडितहरुलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउने र सामाजिक चेतना जगाउने रहेको बताइएको छ। सो अभियान अरबी तथा अंग्रेजी लगायत अन्य भाषाहरु र नेपाली भाषामा पनि संचालन गर्ने अनुरोध गरिएको थियो।
१०) २०७४ कार्तिक २ र ३ गते नेपाली राजदूतावास, मस्कटले नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ पर्वको अवसरमा दिपावली तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्यो। विदेशमा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।
११) २०७४ मंसिर २ गते ओमानको राष्ट्रिय दिवसका अवसरमा महामहिम राजदूतज्यूबाट ओमानका सुल्तान मौसुफ सुल्तान काबुस बिन साइद अल साइद तथा ओमानी जनताका नाममा शुभकामना सन्देश व्यक्त गर्नु भएको थियो।
१२) २०७४ पुस १४ गते नेपाली राजदूतावास, मस्कटले ओमानमा कार्यरत नेपाली महिलाहरुको लागि एक निः शुल्क स्वास्थ्य शिविर आयोजना गर्यो। सो शिविरमा ओमान क्यान्सर एशोसियशन र बरखत अल नुर क्लिनिकले दूतावाससंग सहकार्य गरेको थियो। महिलाहरूमा हुने क्यान्सर (अर्बूद) रोग मध्ये स्तन क्यान्सरबाट बच्न २० देखि ४० बर्षका महिलाहरुले स्तनको स्वयम् परीक्षण गर्नका साथै प्रत्येक २–३ बर्षमा विशेषज्ञ चिकित्सकबाट स्क्रिनिड्ड, म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य भएकोले नेपाली महिलाहरुलाई “स्वस्थ्य शक्ति” कोरुपमा स्थापित गर्ने प्रयास स्वरुप नेपाली राजदूतावास, मस्कटले ओमानमा रहनु भएका नेपाली महिलाहरुका लागि सो शिविर आयोजना गरेको थियो। उक्त कार्यक्रममा करिव 75 जना जति नेपाली महिलाहरुले निः शुल्क स्क्रनिङ तथा ४० पुरुषहरुले निः शुल्क ब्लड सुगर टेस्ट र BMI परीक्षण गराउने अवसर पाउनु भएको थियो।
१३) २०७४ पुस 25 गते नेपाली राजदूतावास, मस्कटले ओमानको परराष्ट्र मन्त्रालय र जनशक्ति मन्त्रालयको सहकार्यमा मस्कटस्थित “कोलोम्बो प्रोसेस” तथा “आवुधाबी डाइलग” राष्ट्रका नियोगप्रमुखहरुलाई निमन्त्रणा गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा एक वैठक आयोजना गरेको थियो। उक्त कार्यक्रममा ओमानले महिला वेचविखन न्यूनीकरणका लागि गरेको प्रयास “ऐहसान क्याम्पेन” का बारेमा ओमानका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी प्रस्तुत गरेका थिए। ओमानका परराष्ट्र मन्त्रालय र जनशक्ति मन्त्रालयका पदाधिकारीहरु तथा उपस्थित अन्य देशका नियोग प्रमुखहरुले नेपाली दूतावासको यस कार्यक्रमको प्रशंसा गर्नु भएको थियो।
१४) नेपाली राजदूतावास, मस्कटले ओमानस्थित नेपाली संघसंस्थाहरु तथा नेपालीहरुको सहयोगमा नेपालको संस्कृति, हस्तकला तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य अनुरुप मस्कट नगरपालिकाले आयोजना गरेको मस्कट फेस्टिबलमा नेपाली स्टल राखि सहभागिता जनाएको थियो। उक्त स्टल मिति २०७४ माघ ४- २७ गते सम्म संचालन गरिएको थियो। करिब ५००० मानिसले उक्त स्टलको भ्रमण गरेका थिए।
१५) मिति २०७४ माघ २९ गते ओमान राष्ट्रिय संग्रालय (National Museum उ ओमान) का महानिर्देशक श्री Jamal Al-Moosawi ले महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूलाई भेटघाट गर्नु भई ओमान राष्ट्रिय संग्रालय र नेपालको राष्ट्रिय संग्रालयबीच द्विपक्षीय सम्बन्ध विस्तारकालागि Memorandum of Understanding हस्ताक्षर गर्ने प्रस्ताव पेश गर्नु भयो। सो प्रस्ताव हाल नेपाल सरकारको सम्बन्धित निकायलाई पठाइसकिएको छ र निकट भविष्यमै MOU हुनेछ।
१६) नेपाली राजदूतावास, मस्कट, ओमानको संयोजनमा NRN Social Club, Oman तथा अन्य बिभिन्न संघ संस्थाहरुको सहकार्यमा सिस्नुपानी नेपालले राजदूत निवासमा “दुई थोपा हाँसो कार्यक्रम” प्रस्तुत गरेको थियो। विदेशमा रहेका नेपालीहरुलाई केही समय भएपनि हास्ने मौका प्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको थियो।साथै यसले राज्यका कलाकारलाई चिनाउने र सम्मान गर्ने उद्धेश्य पनि राखेको थियो
१७) मिति २०७४ फागुन १९ गते नेपाली दूतावास ओमानको शेल्टरमा रहनु भएका दिदिबहिनीहरुले महामहिम राजदुतज्युसंग होलि मनाउनु भयो।
१८) मिति २०७४ फागुन २० गते नेपाली राजदूतावास मस्कटको आफ्नै जमिन तथा भवन निर्माण सम्बन्धमा, महामहिम राजदूत सर्मिला पराजुलीज्यू र ओमानका परराष्ट्र मन्त्रालयका शिष्टाचार बिभागका अधिकारीहरुसंग बार्ता सम्पन्न भयो।
१९) मिति २०७४ चैत्र १ गते ओमानस्थित Royal Court Affairs, Royal Court of Diwan, Royal Guard of Oman, Muscat Municipality जस्ता सरकारी निकायहरूमा कार्यरत रहनुभएका नेपाली कामदारहरूको पद वर्गीकरणलाइ समयानुकूल परिमार्जन गर्न एवं त्यस्ता निकायमा विभिन्न पदमा काम गर्ने नेपाली कामदारहरूको लागि अन्य घरेलु कामदार सरहको व्यवस्था लागू गर्न उपयुक्त भएको नदेखिएको हुँदा तत्सम्बन्धमा घरेलु कामदार सम्बन्धी निर्देशिकाको अनुसूचि ८ बमोजिमको सिफारिश आवश्यक नहुने व्वयस्थाको लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको छ। र अर्को सूचना जारी नभएसम्मको लागि भने यस अघिकै कार्यप्रकृया सुचारू रहनेछ।
२०) महामहिम राजदूतज्यूले “Bait Al Zubair” म्युजियमद्वारा आयोजित Art Exibition मा सहभागी हुनुभई कलाकारहरुलाई प्रोत्साहन गर्नु भयो। यसैगरी वहाँले Sultan Qaboos Universityको २८ औं ब्याचको दीक्षान्तर कार्यक्रममा सहभागिता जनाउनु भएको थियो।
२१) ओमानका बहुचर्चित गायक Haitham Mohammed Rafi तथा ओमानका प्रथम सगरमाथा आरोही श्री Khalid Al Siyabi लाई महामहिम राजदूतज्यूले राजदूत निवासमा आमन्त्रण गरी नेपाली ढाका टोपी तथा खादा ओढाई सम्मान गर्नु भएको थियो र नेपाली परिकार सहितको रात्री भोज दिनु भएको थियो।
२२) यसैगरी खेल कूटनीतिका क्षेत्रमा महामहिम राजदूतज्यूले ओमानमा नेपाली खेलको प्रबर्द्धन गर्न ओमानका खेलकूद मन्त्री तथा सचिव फरक फरक समयमा ओमानका क्रिकेट संघका पदाधिकारीसंग भेट गरी नेपाल र ओमानबीच खेल कार्यक्रमहरु संचालन गर्ने, मैत्री पूर्ण खेलहरु आयोजना गर्ने, खेलाडीहरुलाई प्रशिक्षण दिने जस्ता विषयमा छलफल गर्नु भएको थियो।महामहिम राजदूतज्यूले Sultan Qaboos Stadium मा प्रमुख अतिथिका रुपमा गई हकी खेल हेर्नु भयो र Asian Hockey Federation & Oman Hockey Association का कार्यकारी प्रमूख हरुसंग भेटी नेपाली खेल प्रबर्द्धन का बारेमा छलफल गर्नु भयो।साथै ओमानको NRN Social club लाई Oman Cricket board मा आबद्ध गराउन नेपाली दूतावासले प्रमूख भूमिका खेलेको छ।
२३) आर्थिक कूटनीति तर्फ नेपालको वाणिज्य व्यापार तथा लगानी प्रबर्द्धन गर्नका लागि महामहिम राजदूतज्यूले ओमानका Oil & Gas मन्त्री श्री Dr. Mohammed bin Hamad-Al-Rumhi तथा ओमानका उद्योग वाणिज्य मन्त्रालयका सचिब श्री Eng. Ahmed Hassan Al-Dheसंग अलग अलग भेटघाट गर्नु भई दुई नेपालमा इन्धन आपूर्ति; देशवीच व्यापार, लगानी प्रवर्द्धन का विषयमा छलफल गर्नु भयो। यसैगरी नेपाली दूताबासले Oman Chamber of commerce संग B to B को लागि छलफल प्रकृया अगाडि बढाएको छ। साथै महामहिम राजदूतज्यूले ओमान एअर तथा ओमानको बजेट एअरलाईन- सलाम एअरका कार्यकारी प्रमूखहरुसंग छुट्टाछुट्टै भेटघाट गर्नु भई दुई देशबीच हवाई सेवा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्नु भयो।
२४) महामहिम राजदूतज्यूले ओमानस्थित भारतीय राजदूतावासले आयोजना गरेको Indian Business Forum मा Key speaker का रुपमा सहभागी भई नेपालको व्यापार, लगानी प्रवर्द्न सम्बन्धमा मन्तब्य दिनुभयो। सो कर्यक्रममा करिब २०० भारतीय तथा ओमानी business entrepreneurs हरु उपस्थित थिए।
२५) महामहिम राजदूतज्यूले लगभग 50 वटा कूटनीतिक भेटघाट र 30 भन्दा बढी नेपाली संघसंस्थाहरुको कार्यक्रममा प्रमुख अतिथि भई नेपाली राजदूतावासको गतिविधिहरु तथा राष्ट्को लक्ष्य एवं उद्धेश्यहरुका बारेमा प्रकाश पार्नु भएको थियो।
२६) प्रशासनिक सुधारकालगि दूतावासमा कर्मचारी अभावको समस्या समाधानकालगि केही थप कर्मचारीहरु नियुक्ति गरिएको छ भने सुरक्षाकालागी भनी दूतावासका प्रत्येक कोठाहरुमा तथा लबीहरुमा CCTV जडान गरिएको छ। दूतावासले नयाँ हटलाईन र नयाँ वेभसाइट संचालन गरिरहेको छ भने सामाजिक संजालहरु whats app, twitter, facebook मार्फत पनि दूतावासमा सम्पर्क गर्न सकिन्छ। साथै भर्खरै दूतावास नयाँ सुविधायुक्त स्थानमा स्थानान्तरण गरिएको छ।

सो पश्चात दूतावासका श्रम सहचारी श्री कृष्णा कुमारी गौलीले ओमानमा रहेका नेपाली कामदारहरुका समस्याहरु, समाधान र उद्दारका लागि दूतावासले खेलेको भूमिका आदिका बारेमा प्रकाश पार्नु भयो भने नेपालीहरुको विदेशमा मृत्यु भएमा शवलाई नेपालको एअरपोर्टदेखि निजको घरसम्म लग्नको लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले निः शुल्क शववाहनको व्यवस्था गरिदिएको जानकारी पनि दिनुभयो। त्यसपछि दूतावासका तृतीय सचिव श्री लाल बहादुर अर्यालले दूतावासका कन्सुलर गतिविधिहरुका बारेमा विवरण पेश गर्नु भएको थियो। दूतावासले विगत १० महिनामा गरेका कन्सुलर (उद्दार) गतिविधिहरु निम्नानुसार रहेका छन्;

 उद्दार गरिएका महिला तथा पुरुषको संख्या-६०
 हाल जेलमा रहेका नेपालीहरुको संख्या-०२
 मृतकको नेपालीहरुको संख्या-०६
 अस्पतालमा रहेका नेपालीहरुको संख्या-०४

विवरणहरु प्रस्तुतीकरणपछि केही नेपाली संघसंस्थाहरुका प्रतिनिधिज्यूहरुले नेपाली दूतावासका विविध कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यसरी अगाडी बढ्न र नेपालीहरुलाई छिटो छरितो रूपमा सुविधाहरु प्रदान गर्न अनुरोध गर्नु भो भने श्री उमा आचार्य तथा अनिता तामाङले खाडी मुलुकबाट छुट्टीमा घर जाने महिला घरेलु कामदारहरुलाई आउन नदिएको व्यवस्था दोषपूर्ण रहेको र सो व्यवस्था हटाउन दूतावासले पहल गरिदिनको लागि अनुरोध गर्नुभयो। श्री डि.वी क्षेत्री, देवनारायण तिवारी, छबिलाल बस्नेत आदि वक्ताहरुले मस्कट फेस्टिबलमा नेपाली दूतावासको स्टल राख्नु सकारात्मक पाटो रहेको र यसले नेपाली दूतावासको राम्रो पहिचान बनेको एवं दूतावासमा पर्यटन सहचारी राख्नुपर्ने, जनता-जनताबीचको संबन्ध विस्तार गर्नु पर्ने साथै दूतावासवाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा प्रदान गर्नुपर्ने जस्ता सकारात्मक सुझावहरु प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा महामहिम राजदूतज्यूले सवै बक्ताहरुलाई धन्यवाद दिदै नेपाल-ओमान वीचको संबन्ध आगामी दिनहरुमा थप उचाइमा पु याउने र ओमानले विश्व राजनीतिमा आफ्नो छुट्टै पहिचान स्थापना गरेको हुनाले नेपालले ओमानसंग विविध विषयहरुमा सहकार्य गर्न सकेमा नेपाललाई धेरै लाभ पुग्न तथ्य राख्नु भएको थियो।वहाँले छिट्टै नै नेपाल र ओमानबीच कूटनीतिक राहदानी वाहकहरुलाई प्रवेशाज्ञा उन्मुक्तिका सम्बन्धी तथा दीगो आर्थिक विकासका लागि पर्यटनको महत्वबमोजिम पर्यटन सम्झौता गर्न लागेको जानकारी पनि दिनु भयो।वहाँले नवनिर्वाचित सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नवनियुक्त सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत दिनु भयो र नेपालका परराष्ट्र मन्त्रालय तथा ओमानको परराष्ट्र मन्त्रालयलाई सहयोगको लागि विशेष आभार प्रकट गर्दै आफ्नो कार्यकालमा नेपाल-ओमानको सम्बन्धलाई अझ प्रगाढ पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा दूतावास परिवार तथा विभिन्न संघसंस्थाहरुक प्रतिनिधिहरु गरी करिव ५० जनाको सहभागिता थियो।कार्यक्रमको समाप्ति पश्चात चियापानको पनि व्यवस्था गरिएको थियो।

नेपाली राजदूतावास, मस्कट
५ चैत्र २०७४