ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु

कफला पद्बति (Sponsorship System): कफला पद्धति भनेको स्पोन्सरको अनुमतिले मात्र देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति प्राप्त हुने पद्धति हो।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भएता पनि यस पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन्।मुख्यत: कफला पद्बति उद्बेश्य राम्रो भएता पनि यो पद्बतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठिनाइहरू झेल्नुपर्ने अवस्था आउने, कामदारलाई भगौडा (Runaway/Absconding) जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज (Travel ban) लगाउन सक्ने आदि रहेका छन्।यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसंग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ।

कामदारले बुझ्नुपर्ने कुरा

ओमानको भिषा कफला पद्धति (Sponsorship System) मा आधारित छ।
कफला पद्धति भनेको स्पोन्सरको अनुमतिले मात्र देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति प्राप्त हुने पद्धति।
कफिल (Sponsor) भनेका मालिक (Owner) ।
कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा ओमान प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन।
कफिलको अनुमति बिना तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, अकामा (अस्थायी आवासीय अनुमतिपत्र) जारी वा नविकरण गर्न वा कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन।
कफिलले करारबमोजिम सेवा सुविधा नदिएमा वा भिसा नवीकरण नगरेमा वा कम्पनी समस्याग्रस्त भएमा श्रम अदालतमा गुनासो गर्न सकिन्छ।तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन।यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने वा छोडाउने हुन्छ जसबाट कामदार ठूलो समस्यामा पर्ने हुन्छ।यसरी कामदारहरू समस्यामा परेको मौका हेरी ओमान मै रहेका कतिपय नेपाली तथा अन्य मुलुकका व्यक्तिहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन्।

कफिलले एक्जिट भिषा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुदैन।अलेखवद्ध कामदारलाई कुनै मुद्धा मामिला नभए र स्पोन्सरले Absconding लगाएको भए डिपोर्टेशन सेन्टरबाट एक्जिट भिषा जारी गरी स्वदेश फर्काउन सकिन्छ ।

ओमानमा आउने गरी योजना बनाउदै गर्नुभएको महिला दिदीबहिनीहरु हुनुहुन्छ भने थप विचार गरेर मात्र अघि बढ्नु पर्ने देखिन्छ।नेपाल सरकारबाट मिति २० चैत्र २०७३ बाट घरेलु कामदारमा ओमान लगायत खाडी तथा मलेसियामा पठाउन बन्देज गरिएको छ।

यदि तपाईंहरु ओमानमा घरेलु कामदार बाहेकको काम गर्न आउने सोचमा हुनुहुन्छ भने निम्न बुँदाहरूमा पूर्णरुपमा ध्यान दिएर मात्र आउनु हुन अनुरोध छः

क. कफला पद्बतिका बारेमा प्रष्ट भएर मात्र अघि बढ्नुहोला।
ख. पूर्वनिर्णयको चरणमा ध्यान दिनुपर्ने

घर परिवारसँग सरसल्लाह गर्ने।
कुन रोजगारीको लागि जाने हो एकिन गर्ने र घरेलु कामदार बाहेकको काम हाे हाेइन प्रष्ट हुने ।
ओमानको श्रम कानून बारे जानकारी लिने।(श्रम कानूनमा उल्लेखित विषयहरूः अधिकतम कार्य घण्टा, न्यूनतम ज्याला अतिरिक्त समय, विदा सम्बन्धी सुविधा, रोजगारी करार, विमाको व्यवस्था)।
आफन्त वा साथीभाइका माध्यमबाट ओमान आउन चाहने कामदारले पनि वैदेशिक रोजगारीका लागि उल्लेखित प्रक्रिया पूरा गरी वैदेशिक रोजगारी विभागबाट श्रमस्वीकृति लिनु पर्दछ।
कुन कामका लागि ओमानमा आउन लागेको हो, निश्चित गरेर मात्र आउनु पर्दछ।सो कामको लागि तोकिएको पारिश्रमिक कति छ जानकारी लिएर मात्र आफु आउने/नआउने निश्चित गर्नु पर्दछ।
ओमान आउन लाग्ने खर्च र ओमानमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्ने र फाइदा हुने देखिए मात्र ओमानमा काम गर्न आउने।
विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिषामा मात्र ओमान आउने।मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गरेर मात्र अघि बढ्नु पर्दछ।विचौलियाहरूको विश्वास नगर्नुहोस्।कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनु पर्दछ।
वर्किङ भिषा बाहेक अन्य भिषा (भिजिट भिषा तथा फ्यामिली भिषा) बाट काम गर्न आउनु हुदैन।भिजिट भीसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन्।सजग हुनु पर्दछ।विशेष गरी महिला कामदारलाई भारतको बाटो हुदै भिजिट भीसामा ओमान, कुवेत, यूएइ आदि घरेलु कामको लागि प्रतिबन्धित देशहरुमा ल्याउने गरेको पाइएको छ। यसरी आउने महिलाहरुले बिभिन्न प्रकारका समस्याहरू झेल्नु परेका प्रशस्त घटनाहरू छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलाहरुलाई विशेष अनुरोध छ।
आफ्नै चिनजानका मानिस पनि एजेन्ट भएर तपाइलाई गलत सूचना दिएर ठगी गर्न सक्छन। राजदूतावास, वैदेशिक राेजगार विभाग, वैदेशिक राेजगार बाेर्डको सचिलालय, पहिला ओमानमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका विश्वाशिला साथीभाइसँग कुरा बुझ्नु हुन अनुरोध छ ।
संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर आउन हुँदैन।
ओमानमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ।बढी रकम कसैलाई बुझाउन हुदैन ।
ओमानमा कामदारको रूपमा आउदा वढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ।तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने आउन हुँदैन।
घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भइ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिलाई ओमानमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले नपठाउनुहोस् र आफू पनि नआउनुहोस्।त्यस्ता कामदार यहाँ आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन्।यसमा गम्भीर हुनु पर्दछ।
यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुपर्ने हुन्छ।यस प्रकारका काममा विचौलियाहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ।सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नु पर्दछ।सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भनेअनुसार हुन्छ भन्ने भ्रम बोकेर वैदेशिक रोजगारीमा आउनु हुदैन।

ग. प्रस्थानपूर्वको चरणमा दिनु पर्ने

माथिका सबै बुंदाहरू पढिसकेपछि ओमान आउने निश्चित गर्नुभयो भने संभव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा सोही कम्पनीमा काम गर्ने नेपालीसंग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस्।
पासपोर्ट, भिषा, करारपत्र, श्रम स्वीकृति, रकम वुझाएको भर्पाई लगायतका कागजातहरु ठीक दुरूस्त भए नभएको एकिन गर्नुहोस्।
कागजात ठिक भएपछि एक सेट छाँयाप्रति घरमा छोडेर आउनुहोस् ।
रोजगारदाताले दिने सुविधाः तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिन सहितको श्रम संझौता रोजगारदाताको सही भएको छ छैन विचार पुर्‍याउनुहोस्।दोहोरो श्रम संझौता गरेर नआउनुहोस्।जव तपाई २ वटा संझौता बोकेर आउनुहुन्छ समस्या त्यहीबाट शुरू भयो भन्ने बुझ्नुहोस्।
वैदेशिक रोजगारीमा आउनुपूर्व आफूले गर्ने कामसम्बन्धी तालिम लिनुपर्दछ । आवश्यक सीप भएमा बढी पारिश्रमिक पाइन्छ भने जोखिम पनि कम हुन्छ ।
वैदेशिक रोजगारको लागि सरकारले स्वीकृति दिएको स्वास्थ्य केन्द्रबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्दछ।गर्भवती, दीर्घरोगी, अशक्त, यौनरोग, क्षयरोग, एच.आइ.भी., टि.बी, हेपाटाइटिस आदि रोग लागेमा वैदेशिक रोजगारमा जान पाइँदैन ।
प्रवेशाज्ञा लिएको ३ महिनाभित्र गन्तव्य देशमा पुगिसक्नु पर्दछ ।
ओमान आउँदा वा रहँदा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जानुपूर्व अनिवार्य रूपमा करार अवधिभरको बिमा गर्नुपर्दछ।
करार अवधि थप गरेमा बिमा थप गर्नुपर्दछ अन्यथा बिमाबापतको सुविधा पाइँदैन। उमेर र रोजगार अवधि अनुसार बिमा शुल्क फरकफरक हुने गर्दछ ।
भिषा लागेपछि म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्क बापतको रु १००००। बुझाई सोको भर्पाई लिनुपर्दछ।सो भन्दा बढी रकम मागे ठगी गर्ने नियत रहेको बुझ्नु पर्दछ र सहयोगको लागि सम्बन्धित निकायमा वा वैदेशिक रोजगार.विभागमा खबर गर्नु पर्दछ ।
वैदेशिक रोजगारमा जाने सबैले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्दछ। यो तालिम नलिई श्रमस्वीकृति पाइँदैन । (वैदेशिक रोजगारमा जान सक्षम छ भनेर सरकारले दिने अन्तिम स्वीकृति नै श्रमस्वीकृति हो )
श्रमस्वीकृति करारपत्रमा उल्लेख भएको समयका लागि मात्र हो करार अवधि थप गर्दा पुनः कल्याणकारी कोषमा रकम दाखिला गर्नुपर्दछ र श्रमस्वीकृति लिनु पर्दछ।
स्वदेशको विमानस्थलको प्रयोग गर्नुपर्दछ ।
कारणवश विदेशको विमानस्थल प्रयोग गर्नु पर्ने भएमा व्यवसायीले वैदेशिक रोजगार विभागको स्वीकृति लिएको एकिन गर्नुपर्दछ ।आवश्यक कागजात सीमा नाकामा देखाउनु पर्दछ र व्यवसायीको आधिकारिक प्रतिनिधि साथै हुनु पर्दछ ।
अरविक भाषाको सामान्य शव्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो।
ओमानको कुन ठाँउमा जानुपर्ने ? जहाजवाट कहाँ पुगिने ? कति समय लाग्ने ? यकिन गरेर सोही अनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस्।
नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, वगैचे तथा भान्से आदि) लाई ओमान आउन श्रम स्वीकृति प्रदान गर्दैन।यस्ता कामदारको हकमा स्थानीय श्रम कानून समेत लागु हुँदैन।यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरीका वा बाटोबाट यस्ता काममा नआउनुहोस्।
अन्य मुलुक भएर ओमान नआउनुहोस्।

घ. यात्राको चरणः

आवश्यक कागजातः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस्।
ओमानमा गैर कानूनी हुने पदार्थहरूः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्शन भन्दा बाहिरका औषधी आदि नल्याउनुहोस्।
विमानस्थलमा सोधेको विषयमा सही जानकारी दिनुहोस्।एयरपोर्टमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस्।जे सत्य हो, त्यही सबै ठाँउमा भन्नुहोस्।ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा प्रहरीमा उजुरी दिनुहोस्।
स्वदेशकै विमानस्थलबाट आउनुहोस्।स्वीकृति वेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउदै हुनुहुन्छ भने तपाइ दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रकृयाको वारेमा पूर्व जानकारी लिनुहोस।
ओमानको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नं. बाट) यकिन गर्नुहोस्।पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस्।अर्कै रोजगारदाताले लैजान सक्ने भएकोले चनाखो हुनुहोस्।

ओमान: एक संक्षिप्त परिचय

क्षेत्रफल: ३,०९,५०० वर्ग कि.मि.।विभिन्न ११ प्रादेशिक क्षेत्रहरु (प्रान्त)।
स्थान: मध्यपूर्वमा अवस्थित, दक्षिणपूर्वमा अरबी प्रायद्धीप,अरब सागर, ओमानको खाडी एवं पर्शियन खाडी तथा यमन र यूएई बीचको सीमाना क्षेत्र।यमन, यूएई र साउदी अरबसँग सिमाना जोडिएको।
हावापानी : तातो र सुख्खा तथा धेरै गर्मी।
धर्म: मुस्लिम
शासन व्यवस्था: राजतन्त्र
जनसंख्या: ४७,५५,०९१ जना। ५९.७०% ओमानी तथा ४०.३०% विदेशी। नेपालीको संख्या: २०,४०० जना (सेप्टेम्बर २०२२-NCSI)
मुख्य शहर: मस्कट (राजधानी), दोफार (सललाह), सोहार,सुर,निजुवा आदि।