कोरोना भाइरस (COVID-19) सम्बन्धी सतर्कता अपनाउनु हुन अनुरोध!!

कोरोना भाइरसको कारणले ओमानमा आजसम्म 2348 (495 जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने 11 जनाले ज्यान गुमाएका छन्।
ओमानको कोभिड-19 रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको निर्णयानुसार २८ अप्रिल २०२० मंगलबारबाट ओमानमा केही व्यवसायहरू आंशिकरूपमा खुलेकोबारे यहाँहरू जानकार नै हुनुहुन्छ। उक्त समितिले व्यवसायीहरूलाई पर्याप्त मात्रामा स्वास्थ्य सम्बन्धी पूर्व सतर्कता अपनाउन हुन समेत निर्देशन दिएको छ। तसर्थ उक्त व्यवसायिक गतिविधिमा संलग्न नेपालीहरूले पर्याप्त रूपमा सचेत रहन र स्वास्थ्य सम्बन्धी पूर्णरूपमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। साथै व्यवसायिक कामको लागि ओहोर-दोहोर गर्दा वा अत्यावश्यक व्यक्तिगत काम पर्दा समेत समूहमा आवत-जावत नगरी पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न समेत सबैमा दूतावास अपिल गर्दछ।
त्यसैगरी नेपालको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी ज्येष्ठ २ गते सम्म सम्पूर्ण आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडानहरू बन्द गर्ने निर्णय गरेको व्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध छ।
नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूबारे जानकारी संकलन गर्ने उद्देश्यले शुरू गरेको अनलाइन सूचना संकलनमा उल्लेख्य सहभागिता रहेकोमा यहाँहरूलाई धन्यवाद दिंदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्नु हुन समेत अनुरोध छ।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७७ बैशाख 18 गते बिहीवार ।